काठमाडौं । माओवादी केन्द्रको जारी ८औँ राष्ट्रिय महाधिवेशन अगावै स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार २९९ केन्द्रीय कमिटी निर्वाचित गरेर १५ पदाधिकारी चयन गर्नेछ । जसअनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने निर्णय गरेको छ ।
यद्यपि अध्यक्षमा प्रचण्डको विकल्प नभएपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठले दाबी गर्नसक्ने सम्भावना छ भने अर्का नेता कृष्णबहादुर महरा पनि आकांक्षी देखिएका छन् । यसअघि महराको महासचिवमा चर्चा चले पनि आकांक्षी धेरै देखिएपछि उनले उपाध्यक्षमा आँखा लगाएका छन् । तर, महासचिवमा आफ्नो मत कमजोर भए उपाध्यक्षमा दाबी गर्ने माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए ।
स्थायी कमिटीले सकभर पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्ने गृहकार्य थालेको बताएको छ । तथापि सर्वसम्मत हुने सम्भावना भने न्यून रहेको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार, ‘पदाधिकारीमा अधिकांश नेताको आकांक्षा बढेको छ, यसर्थ सर्वसम्मत नेतृत्व चयन गराउन कोसिस गरे पनि त्यो सम्भव देखिँदैन ।’
महाधिवेशनको चर्चासँगै माओवादी केन्द्रमा महासचिवको पनि व्यापक चर्चा चलेको छ । महासचिवका लागि आजसम्म पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’ आकांक्षी छन् । अर्थ तथा योजना विभागको प्रमुखसमेत रहेका वर्षमान महाधिवेशनमा उपस्थित हुन सकेनन् । उनी हाल उपचारका लागि चीनमा छन् ।
वर्षमान उपचारकै क्रममा स्वदेश आउन नपाएपछि महासचिवका लागि लबिङ गर्ने मौका पाउन भने सकेका छैनन् । उनको पक्षमा लविङ गर्ने नेताहरूको पनि अभाव देखिएको छ । गत शुक्रबार अध्यक्ष प्रचण्डले टेलिफोनमार्फत पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । टेलिफोनमा प्रचण्डले स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा नै आराम गर्न सुझाव दिएका थिए । वर्षमानले प्रचण्डसँग आफू महासचिवको दाबेदार भएको स्मरण गराएको एक नेताले बताए ।
उनको स्वास्थ्यमा सुधार नआएपछि महाधिवेशनमा उपस्थित हुन सकेका छैनन् । उनको अनुपस्थितिले महासचिवमा कमजोर बनेका छन् । महासचिवमा जनार्दनको पनि दाबी छ । यी दुवै माओवादी सशस्त्र जनयुद्धमा जनमुक्ति सेनाका कमाण्डर थिए ।
वर्षमान, जनार्दनका अगाडि कमजोर देखिएका छन् । उनी लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छन् । लुम्विनी प्रदेशको मत पनि विभाजन हुने देखिन्छ । किनकि महराले पनि महासचिवमा दाबी रहेका छन् । यसो हुँदा वर्षमान थप कमजोर हुने लुम्बिनी प्रदेशका एक प्रतिनिधि बताउँछन् ।
त्यस्तै जनार्दनको पनि महासचिवमा दाबी छ । उनी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्छन् । कर्णालीबाट जनार्दनको एकल उपस्थिति छ । उनलाई सूदुर पश्चिमको पनि साथ रहेको बताइन्छ । महाधिवेशनको उद्घाटन कार्यक्रम पनि जनार्दनले नै सञ्चालन गरेका थिए ।
माओवादी केन्द्रले पदाधिकारीको संख्या १५ पुर्याएपछि हालका स्थायी कमिटी सदस्यहरु सबै पदाधिकारीमा अट्ने भएका छन् । माओवादी केन्द्र र एमालेबीच एकतापछि बनेको नेकपामा माओवादी केन्द्रबाट १९ स्थायी कमिटी र २ आमन्त्रित सदस्य थिए ।