• बैशाख ११ २०८२, बिहीबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

पुष ८ २०७८, बिहीबार

झापा, बाँके, सुनसरी, सिन्धुली, चितवन, कास्की, धनुषा र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएका छन् । झापाको कमल गाउँपालिका-५ स्थित सडकमा को.१ क १३९१ नम्बरको बस र प्र.१-०२-०४८ प ३०८९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी बराहक्षेत्र नगरपालिका-१० बस्ने २२ वर्षीय अभिशेक यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका-१० बस्ने २५ वर्षीय राम कुमार खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता बाँकेको नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोक नजिक सडकमा ना.६ ख २६२३ नम्बरको ट्रकले भे.७ प २७८१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कालिकोट तिलागुफा गाउँपालिका-३ बस्ने २९ वर्षीय कुश हमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सुनसरी ईनरुवा नगरपालिका-६ मधेषास्थित सडकमा को.१ च ९०९१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सिन्धुलीको सुनकोशी गाउँपालिका-६ रिठ्ठभिर नजिक सडकमा प्रदेश २-०३-००१ च ४००८ नम्बरको बलेरो गाडी सडकबाट अन्दाजी २ सय फिट तल खसेर गएराति दुर्घटना हुँदा गाडीमा सवार सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने २० वर्षीय कुनथाङ मोक्तानको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडीका चालक समेत २ जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लगिएको छ

यता चितवनको भरतपुर महानगरपालिका-१३ सीतामाईस्थित सडकमा ना.१ ज ८७२४ नम्बरको म्याजिक गाडीको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीय उद्धबराज गौतमको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । म्याजिक गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै भरतपुर महानगरपालिका-२१ सूर्यनगर सोल्टी चोकमा ना.३० प ९२९९ नम्बरको मोटरसाइकल बिहीबार बिहान आफै अनियन्त्रित भई नहरमा खस्दा मोटरसाइकल चालक सोही महानगरपालिका-१९ सारदानगर बस्ने ३२ वर्षीय जितेन्द्र रसाइलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-२ ढिकुरपोखरीस्थित सडकमा रोकी राखेको ना.७ ख ९१२४ नम्बरको ट्रकमा ग.२१ प ४४६० नम्बरको स्कुटर ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा बस्ने ३० वर्षीय कृष्ण सुवेदी र स्कुटरमा सवार सोही ठाउँ बस्ने २८ वर्षीय सुनिल केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी मागी खाई हिँड्ने गरेकी अन्दाजी ३० वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषाकै मिथिला नगरपालिका-७ ढल्केवर सिप्रदी नजिक सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको गएराति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी कैलालीको टिकापुर नगरपालिका-७ बैदीस्थित हुलाकी सडकमा साईकल सहित कल्भर्टबाट तल खोल्सामा जमेको पानीमा खस्दा साईकलयात्री भजनी नगरपालिका-८ काँडा बस्ने ५५ वर्षीय साधुराम डगौराको बुधबार राति मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।