काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र सुदृढ तुल्याउन सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताएका छन् ।
वायुसेवा सञ्चालक सङ्घ, नेपाल (आयोन) को २१औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री आलेले हवाई क्षेत्रमा रहेका समस्या समाधान गर्दै सुरक्षित उडानको सुनिश्चितताका लागि सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने समेत बताए ।
पर्यटनमन्त्री आलेले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साता १० दिनभित्रै क्यालिब्रेसन फ्लाइट गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गरिने जानकारी दिए । अर्को निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बढीमा आठ महिनाभित्र क्यालिब्रेसन उडान गरिने बताए ।