काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा चुलिँदै गएको वर्तमान अवस्थामा नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएका छन् ।
नेपाल हस्तकला महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्नेमा जोड दिएका हुन् ।
उपराष्ट्रपति पुनले स्वदेशी उत्पादनलाई माया र प्रवर्द्धन गर्नुपर्ने बताउँदै सबैले स्वदेशी उत्पादनको प्रयोग गर्न पनि आग्रह गरे। उनले हस्तकला व्यवसायीहरुले गुणस्तरीय वस्तु उत्पादनमा ध्यान केन्द्रित गरी निर्यातमा जोड दिनुपर्ने पनि उल्लेख गरे। उनले हस्तकला क्षेत्रको समस्याहरु कलाकार तथा व्यवसायीको मात्र नभई राज्यको पनि भएकाले यसलाई राज्यले गम्भीर रुपले लिने बताए।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष सागर शमशेर जबरा र केही निकासीकर्तालाई पनि सम्मान गरिएको थियो ।