• बैशाख ९ २०८२, मंगलवार

वातावरणीय प्रदूषण र मानवीय अतिक्रमणका कारण जैविक विविधता नासिँदै

मंसिर २६ २०७८, आईतवार

बागलुङ । वातावरणीय प्रदूषण र मानवीय अतिक्रमणका कारण म्याग्दीका नदी तथा खोलाबाट जलचर प्राणी लोप हुँदै जान थालेका छन् ।

जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढी पहिराका कारण कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीबाट जलचर प्राणी नासिनाका साथै यस क्षेत्रको जैविक विविधता खल्बलिँदै गएको वातावरण संरक्षणकर्मीले बताएका छन् ।

विगत पाँच वर्षदेखि यी जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीको दोहनका कारण यी नदीहरुमा रहेका जलचर प्राणी लोप हुँदै गएको उनीहरुको भनाइ छ ।

भगवान विष्णुको प्रतिक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको बासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन जलविद्युत् अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भई वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।

नारच्याङ जलचर र जङ्गली जनावरको बासस्थानका लागि अत्यन्त अनुकूल स्थान भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाबाट विद्युत् आयोजना निर्माण गर्ने होडबाजी नै चलेकाले यहाँका जलचर प्राणी सङ्कटमा परेको नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाले बतए ।

नारच्याङमा १५७ मेगावाटका पाँच जलविद्युत् आयोजना निर्माणाधीन छन् । निर्माणाधीन रहेका ती जलविद्युत् आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन् । बाढी पहिरो र नदीजन्य वस्तुको अप्राकृतिक उत्खनन् पनि जलचर प्राणी नासिनुका मुख्य कारण रहेको वातावरण संरक्षणकर्मीले बताएका छन् ।

म्याग्दी, कालीगण्डकी र रघुगङ्गा क्षेत्रमा गएको पहिरो तथा बाढीले नदीको जलचक्र प्रणाली नै खल्बल्याई दिएकाले जलचरको बासस्थान नास हुँदा उनीहरु लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी श्रीराम सिग्देलले बताए ।

उनका अनुसार नदीमा आउने बाढीले नदीलाई धमिल्याइ आहाराको अभाव गराइ दिने मात्र होइन त्यसले जलचरको अनुकूलन अवस्थालाई पनि क्षति पुर्याई दिने भएकाले त्यस ठाउँमा रहनसक्ने अवस्था नभए पछि जलचर प्राणी तलतल तिर सर्दै जान्छन् ।

यहाँका तीन वटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी बढेर गएको छ । नदीमा डोजर र स्काभेटरजस्ता भारी साधन प्रयोग गरेर जथाभावी नदीजन्य वस्तु निकाल्दा त्यसको असर जलचर प्राणीमा पनि परेको र उनीहरु नासिँदै गएको वातावरण संरक्षणकर्मीको भनाइ छ ।

त्यसैगरी बजार तथा ग्रामीण क्षेत्रको फोहोर विर्सजन गर्ने ठाउँ नदी तथा खोला नै बन्ने गरेका छन् । नदीमा फोहोर विर्सजन गर्दा रासायनिक तत्वको प्रभावले जलचर प्राणीको अस्तित्व जोखिममा परेको वातावरणविद्हरुको भनाइ छ ।