काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धिहरुमाथि खतराका संकेत देखिएकोले अहिले नेपालका सबै राजनैतिक पार्टीहरु मिलेर जानुपर्ने आवश्यकता देखिएको बताएका छन्। राजधानीमा जारी नेपाली काँग्रेसको १४ औं महाअधिवेशनको उद्घाटन सत्रमा काँग्रेसको महाअधिवेसनलाई सफलताको शुभकामना दिंदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
काँग्रेस महाअधिवेशनमा उनी भन्दा पहिले शुभकामना मन्तव्य दिंदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ‘जनताले रानीतिक पार्टीका नेताहरुलाई चोर भन्छन’ भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले तानाशाही सोच भएको मानिसले मात्रै त्यस्तो सोच्न सक्ने धारणा व्यक्त गरे।
आन्दोलनपछि सत्तामा जाँदा आफूहरुले जनतालाई केहि बिर्सिएको, निर्वाचनमा गरेका प्रतिवद्धता सरकारमा जाँदा भुल्ने जस्तो गल्ति गरेको भनेर भने उनले आत्माअलोचन गरे। नेपाली काँग्रेसका दिवंगत सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र आफुले देखेको सपना भनेकै शान्ति र संविधान भएको उल्लेख गर्दै प्रचण्डले इतिहासका महत्वपुर्ण घडीहरुमा नेपालमा काँग्रेस र कम्युनिष्ट मिलेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै आफूहरुको यो साझा उद्येश्यबाट कहिल्यै बिचलित हुन नहुने धारणा व्यक्त गरे।
नेपालमा एक्लै हिड्न चाहनेको ओरालो यात्रा सुरु हुने भन्दै प्रचण्डले राजनैतिक रुपमा प्रतिस्पर्धा गरेपनि फेरी एकता गरेर जानुपर्ने धारणा व्यक्त गरे।