काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि अब दुई दिन मात्र बाकी रहेको बेला भृकुटीमण्डपमा भने नेताहरुको तीव्र प्रचार प्रसार शुरु भइसकेको छ ।
नेताहरूले १४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षा राखेर आफ्नो प्रचार सामग्री र ब्यानरहरुसहित भृकुटीमण्डपमा झुण्ड्याउने र टाँस्ने गरिरहेका छन् ।
यता भने सभापतिको दौडमा आइतबारदेखि लगातार नेताहरुबीच छलफल भए पनि साझा उम्मेदवार टुंगो लगाउन नसकिरहेको बेला आज बुधबार गणेशमान भवन चाक्सीबारीमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालासहित केन्द्रीय नेताहरुको बैठकले उम्मेदवार तय गर्न नसकेको हो । बैठकपछि केन्द्रीय सदस्य गुरुराज घिमिरेले साझा उम्मेदवार नटुंगिएको जानकारी दिए ।
विहीबार बिहान ८ बजे फेरि बैठक बसेर उम्मेदवार टुंग्याइने भएको छ ।