काठमाडौं । हाम्रो समाज पनि यस्तो छ कि, कुनै कुनै शब्द र समयले एउटा खास वर्गलाई लज्जित बनाउने गर्छ । अहिलेको समाजमा खासगरी यस्तो समस्या महिलालाई आउने गर्छ । यस्तै घटना हालै भारतको राजधानी नयाँदिल्लीमा घटेको छ । भारतको नयाँदिल्लीमा क्याम्पस पढ्ने एक युवतीले आफ्नो जन्मदिनको अवसरमा किनेको स्कुटरमा सन्तान उत्पादनको लागि मानवको जैविक कृयामा प्रयोग हुने अंग्रेजी शब्द ‘सेक्स’ लेखेको पाइएपछि उनलाई लज्जित हुनुपरेको हो । उनले आफ्नो जन्म दिनमा आफ्ना बुवालाई अनुरोध गरेर भर्खरै किनेको स्कुटरको नम्बरमा ‘सेक्स’ लेखेको भेटिए पछि ती युवतीलाई स्कुटरमा यात्रा गरौं कि स्कुटरलाई फाल्नु झैं भएको छ ।
नयाँ दिल्लीकि सरिता (नाम परिवर्तन) एक मध्यम वर्गीय परिवारकि युवती हुन् । समाचारमा बताइए अनुसार ती युवतीले गत महिना परेको आफ्नो जन्मदिनमा आफ्ना बुवासँग एउटा स्कुटर उपहारस्वरुप मागिन् । उनलाई जन्मदिने बुवाले पनि आफ्नी छोरीको लागि जेनतेन पैसा जुटाएर छोरीको जन्मदिनमा स्कुटर किनेर उपहार दिए तर जब नयाँ दिल्लीको क्षेत्रीय यातायात कार्यालयमा स्कुटर दर्ता गरेर स्कुटरको नम्बर लिइयो नम्बरसँगै ती युवतीलाई संकट आइलाग्यो ।
खासमा स्कुटर दर्ता गर्दा सरितालाई जुन नम्बर क्षेत्रीय यातायात कार्यालयले दियो । त्यसमा त्यही नम्बर संयोगले ‘सेक्स’ शब्द बनिदियो । यातायात कार्यालयका अनुसार सो स्कुटरको नम्बर कायम गर्दा पूरा गरिने निश्चित प्रकृया अनुसार संयोगले यस्तो भएको हो । सरिताको सो स्कुटरमा डीएल थ्री एस इ एक्स…. (DL-3SEX…..) नम्बर परेको थियो ।
सरिताको स्कुटरमा यस्तो नम्बर देखेपछि बाटोमा मानिसहरुले उनलाई जिस्काएर हैरान पारे । यही नम्बरका कारण सरिता सडकभरि अपमानित र लज्जित हुनुपर्यो । युवतीले आफ्ना बुवासँग स्कुटरको सो नम्बर परिवर्तन गरिदिन अनुरोध गरेअनुसार उनीहरु यातायात कार्यालय गएर नम्बर परिवर्तन गरिदिन अनुरोध पनि गरे, तर दिल्ली क्षेत्रीय यातायात कार्यालयले सो नम्बर परिवर्तन गर्न नसकिने बतायो ।
नयाँदिल्लीको आरटिओ कार्यालयका अनुसार अहिले सो ठाउँमा दुइपाङ्ग्रे यातायातको साधनमा दर्ता गर्दा अगाडीको नम्बरमा इएक्स अक्षरको पालो आएको छ । यो सिरिजबाट भारतमा १० हजार यातायातका साधनहरुलाई नम्बर दिने गरिन्छ । सरिता आफ्नो स्कुटरमा भएको सो नम्बर बदल्न चाहन्छिन् तर यातायात कार्यालयले कानुनी जटिलता देखाएर सम्भव नभएको बताउँछ ।
भारतीय यातायातका एक अधिकारी केके दहियाले पत्रकारलाई यसबारे उत्तर दिंदै भएका छन्, ‘यातायातका साधनहरुलाई नम्बर दिंदा यस्तो नम्बर परेको हो ।’ उनले एकपटक यातायातका साधनलाई नम्बर दिइएपछि त्यसलाई परिवर्तन गर्ने भारतमा अहिलेसम्म कुनै प्रावधान नभएको समेत बताए । उनले भनेका छन्,‘यातायातका साधनहरुलाई नम्बर दिने प्रकृया क्रमैसँग पूर्वनिर्धारित लयमा चल्ने गर्छ ।’
क्याम्पसमा फेसन डिजाइन अध्ययन गरिरहेकी ती युवती आफ्ना दैनिक कक्षाहरुमा सहभागी हुन दैनिक रुपमा नयाँदिल्लीको जनकपुरीबाट नोयडासम्म आउने गर्छिन् । आफूलाई परेको सो अफ्ठेरोका बारेमा ती युवतीले दिल्ली महिला आयोगमा समेत उजुरी दिएकी छिन् । महिला आयोगका अध्यक्ष स्वाती मालिवालले दिल्लीको यातायात कार्यालयमा एक सूचना पठाउँदै सो नम्बर सच्याइदिन अनुरोध गरेकी छिन् ।
ती युवतीले एआर मोटर्स कम्पनीबाट अंग्रेजी मिति अनुसार गत नोभेम्बर दुई तारिकका दिन टिभिएस कम्पनीको सो स्कुटर किनेकी थिइन् भने यातायात कार्यालयले उनलाई अंग्रेजी अक्षरमा DL-3 SEX5237 भएको स्कुटरको नम्बर उपलब्ध गराएको थियो ।