काठमाडौँ । एक पुस्तक लोकार्पणमा बोल्दै विभिन्न वक्ताहरुले नेपाली इतिहासका अनौठा किस्साहरु सुनाएका छन् । राजधानी काठमाडौँमा राजन कार्कीद्वारा लिखित पुस्तक ‘ज्वालामुखीमाथि देश’को लोकार्पण कार्यक्रममा बोल्दै वक्ताहरुले यस्ता अनौठा किस्सा सुनाएका हुन् । सो पुस्तक लोकार्पण कार्यक्रममा मुख्य अतिथिको रुपमा बोल्दै राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले गएको ३० वर्षमा नेपालमा १८५ वटा राजनैतिक पार्टीहरु दर्ता भएको तर यही ३० वर्षमा देशमा भएका ३ हजार उद्योग तथा कला कारखाना बन्द भएर देश परनिर्भर भएको तथ्य औंल्याए ।

बहुदल प्राप्त भएसँगै देशमा राजनैतिक विकृति, विसंगतिहरु पनि मौलाएको भन्दै डाक्टर केसीले नेपालका आजसम्मका कुनैपनि राजनैतिक व्यवस्था अनुशासनमा नचलेको हुनाले देशको अवस्था बिग्रिएको धारणा व्यक्त गरे । उनले भने, ‘नेपालको विगत राम्रो नभएकोले वर्तमान पनि राम्रो नभएको हो ।’ हरेक राजनैतिक व्यवस्थाहरुले देशमा विकृति र विसंगतीपूर्ण काम गरेर यस्तो सुन्दर देशलाई ज्वालामुखीमाथि पुर्याएको हुनाले राजन कार्कीको पुस्तकले ती कुराहरु बोलेको उनले बताए ।
‘ज्वालामुखीमाथि देश’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै डाक्टर शास्त्रदत्त पन्तले नेपालमा भएका विकार र विकृति औंल्याएको सांकेतिक रुपमा सो पुस्तकमा देशको राष्ट्रियता झल्किएको धारणा व्यक्त गरे । आजको नेपालमा राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता बाहेक अरु सर्वसाधारण जनता अझैं दासको रुपमा रहनु परेको गुनासो सो पुस्तकमा समेटिएको उनको धारणा थियो ।

कार्यक्रममा नेपाली सेनाका पूर्वजनरल डाक्टर प्रेमसिंह बस्न्यातले पुस्तकमा ठूलो देशप्रेम र राष्ट्रवाद देखिएको हुनाले हरेक पाठकले सो पुस्तक पढ्दा आफैले लेखेको जस्तो अनुभूत हुने धारणा व्यक्त गरे । नेपालमा मठाधिस र पिठाधिसहरुले आफ्नो फाइदाको लागि नेपाली फुटाएको बताउँदै नेपालका नेताहरुले गर्दा अहिले नेपालमा न्याय समेत मरेको लगायत विषयवस्तु पुस्तकमा समेटिएको धारणा व्यक्त गरे ।
कार्यक्रममा सिमाविद बुद्धिनारायण श्रेष्ठले नेपाली समाजलाई आजसम्म १२ वटा कृति दिइसकेका लेखक कार्कीको प्रस्तुत पुस्तकमा माटोप्रेम र राष्ट्रप्रेम देखिएको बताए । नेपालमा कोही पनि लोकनेता नभएको साथै भएका नेताहरुले यस्तो सुन्दर देशलाई ज्वालामुखिमाथि पुर्याएको विकृतिलाई पुस्तकले बोलेको धारणा व्यक्त गरे ।

पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी, लोकगायक रामप्रसाद खनाल लगायतले लेखक कार्कीलाई शुभकामना मन्तव्य दिएका थिए । दीर्घराज प्रसाईंको अध्यक्षतामा भएको पुस्तक लोकार्पण कार्यक्रमलाई वरिष्ठ पत्रकार बैकुण्ठ भण्डारीले संचालन गरेका थिए । रत्नसागर प्रकाशनले प्रकाशन गरेको सो पुस्तक लोकार्पण समारोहलाई प्रकाशक संस्थाले नै आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई लेखक राजन कार्कीले मन्तव्य दिएर स्वागत गरेका थिए ।