काठमाडौं ।एमालेको १० औं महाधिवेशनसँगै सौराहामा पर्यटनले केही गति लिन थालेको त्यहाँका होटल व्यावसायीहरुले अनुभूत गर्न थालेका छन् । उनीहरुले एमाले महाधिवेशनसँगै बाहिरफेरका पर्यटकहरुले पनि सौराहमा घुमफिरका लागि चासो राखेको बताएका छन् । होटलका रुमहरु केही बुुकिङ हुन थालेका छन् ।
एमाले महाधिवेशनमा गैंडाको ‘मस्कट’ बनाएर राजनीतिक प्रचार प्रसार गरेपछि चितवनको पर्यटनले दीर्घकालीन रुपमा पनि केही गति लिने स्थानीय जनताको टिप्पणी रहेको छ ।
महाधिवेशनका अबधिभर राम्रै व्यापार गरेका स्थानीय व्यापारीहरु कोरोनाको महामारीले ध्वस्त पारेको जनजीविका यसै गरी उत्सव, महोत्सव र सम्मेलनहरु गरिरहेमा केही पुनर्जीवन पाउने आशासमेत् व्यक्त गर्न हिच्किचाउँदैनन् ।
तर स्थानीय जनताको यो आशासँगै ओमिक्रोनको आगमनले फेरि तर्साउन थालिसकेको पनि छ । स्थानीय जनताको पुकार छ, जे जसरी हुन्छ, भाइरसको यो उत्परिवर्तन नेपालमा आउन नदिन सरकारले प्रभावकारी उपायहरु अपनाओस् ।
महाधिवेशनका बेला होटल तथा रेष्टुरेन्टका साथै साना खुद्रा व्यापारीहरुलाई पनि भ्याइनभ्याइ भैरहेको थियो । उनीहरु यो बेलामा आफूहरुको ऋण तिर्नसम्मको व्यापार गर्न पाएकोमा निकै खुशी छन् । भन्छन्– महाधिवेशनका बेला शतप्रतिशत बुकिङ भएको थियो । खाली ठाउँ नै थिएन ।
महाधिवेशनका अवधिभर सौराहामा मात्र ६ करोडको व्यापार भएको अनुमान छ ।