काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट एकै दिन २१ किलो सुन बरामद भएको छ । विदेशबाट फर्किनेहरूले बाला आकारको स्वरूप बनाएर ल्याएका २१ किलो सुन नियन्त्रणमा लिइएको भन्सार विभागले जनाएको छ ।
काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४१५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन विभागले जानकारी दिएको छ । विभागका अनुसार काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता गरिएको छ। १९५ जनाले राजस्व तिरेर आफ्नो सुन लागेका छन् ।
यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउन दिए पनि अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ । विदेशबाट फर्किनेहरूलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुनलाई बङ्ग्याएर बाला आकारमा पठाएर विमानस्थलमा सङ्कलन गर्दै आएका थिए । ५० ग्रामको बाला पठाउँदा विदेशबाट फर्किने कामदारहरूलाई तस्करले ५ हजार दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर गहना ल्याउन पाइन्छ । सो भन्दा बढी भित्र्याए जफत हुन्छ । विमानस्थलमा अहिले फेला परेको सुन गहनाको रुपमा २५० ग्राम र व्यक्तिगत प्रयोगको रुपमा एक सय ग्राममा दिइएको सुविधा अन्र्तगतको भएको भन्सार विभागले जनाएको छ ।