• मंसिर १६ २०८१, आईतवार

कास्कीमा बस दुर्घटना : चालकको मृत्यु, आठ जना घाइते

मंसिर १४ २०७८, मंगलवार

पोखरा । कास्कीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । लु१ख ७७६६ नम्बरको बस अन्नपूर्ण गाउँपालिका–३, पाउदुर घुम्तीमा मंगलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार उक्त घुम्तीबाट बस ३० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी बस चालक पाल्पाका ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा अस्पतालले बिहान ९ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते हुनेमा बागलुङ नगरपालिका–६, लहरेपीपल बस्ने २९ वर्षीय शिवराम शर्मा, ठूलढुंगा बस्ने ४८ वर्षीय कृष्ण खड्का, बागलुङ–१४, बलेवा बस्ने २५ वर्षीय राजु श्रेष्ठ, उनको बुवा ८५ वर्षीय उमलाल श्रेष्ठ रहेका छन् ।

यस्तै, बागलुङकै आवारोड बस्ने ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका–४ बस्ने ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महानगरपालिका–३, राम्जाली मार्ग बस्ने २३ वर्षीया साधना उपाध्याय घाइते भएका छन् । यस्तै अन्नपूर्ण गाउँपालिका–३, पाउदुर बस्ने माया विक पनि घाइते भएकी छन् ।

उनीहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।