कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाको कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका ६ महुवाका १३ वर्षीया वालिका सिर्जना यादव (खुस्वु) रहेकी छिन् । एन्टिजिन परीक्षणमा यादवलाई हैजा देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तु अस्पताल, तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए । जिल्लामा असोज १८ गते देखि फैलिएको हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । बुद्धभूमि ७ मानपुरमा असोजको पहिलो साता साढे दुई वर्षको वालिकाको समेत झाडा पखालाको कारण ज्यान गएको थियो ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका थप तीन पालिकामा हैजा देखिएको बताइएकोे छ । कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका रोगी फेला परेका छन् ।
बुद्धभूमिका ५ वडा र मायादेवीको वडा नं. ७ मा कोलेरा एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको छ । बुद्धभूमिका वडा नं. ५, ६, ७, ८ र १० वडामा विरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताए ।