काठमाडौं । अमेरिकाले कृत्रिम तेल गुफामा लुकाएको पाँच करोड ब्यारेल तेल झिक्न लगाएको छ । ह्वाइट हाउसको आदेशमा यो कच्चा तेल झिक्न लगाइएको हो ।
राष्ट्रपति बाइडेनको आदेशमा झिक्न लगाइएको यो कच्चा तेलको मात्राले अमेरिकी तेल व्यवस्थापनमा आएकोे तरलतालाई समाधान गर्ने भनी विश्वास गरिएको छ ।
अमेरिका आफैले ३५ अर्ब व्यारेल तेल सञ्चय गरेको छ । यो सञ्चिति अमेरिकाको भूमिमा रहेको तेल र उसले अरब देशहरुबाट ल्याएर कृत्रिम भण्डारण गरेको तेलको कूलजम्मा हो ।
अहिले विश्वभर तेलको मूल्य बढ्दै गएपछि विश्वमा सबैभन्दा बढी तेल खपत गर्ने देश अमेरिकाले तेल उत्पादक देशहरु ‘ओपेक’ बाट लिन भन्दा केही समय यसमा रुकावट ल्याइदिंदा तेलको मूल्यमा सन्तुलन आउने विश्वास गरेको देखिन्छ ।
उक्त अमेरिकी पहल एकदेशीय मात्र नभई चीन, भारत, बेलायत, जापान र दक्षिण कोरियालगायत देशहरुसँगको छलफलपछि लिइएको अमेरिकाको दाबी छ । सन् १९७५ देखि आफ्नो आन्तरिक संकट टार्न विशाल नुनिला गुफाहरु निर्माण गरेर अमेरिकाले ७० करोडबढी ब्यारेल तेल भण्डारण गरेर राख्दै आएको छ ।
सन् १९७५ मा अमेरिकाले प्यालेस्टाइन दमनका लागि इजरायललाई सघाएको थियो । मुस्लिम दमनको प्रतिशोधस्वरूप खाडी देशहरु इराक, कुवेत, कतार र साउदी अरबले अमेरिकामा तेल निर्यात बन्द गरिदिएका थिए । त्यतिखेर अमेरिकामा प्रतिब्यारेल ३ डलर रहेको तेलको मूल्य चार गुणा बढेर १२ डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।
त्यस बखत खाडी राष्ट्रले तेल आपूर्ति बन्द गरेपछि अमेरिकाले विशाल तेल भण्डार निर्माण कार्य सुरु गरेको हो । टेक्सास र लुजियाना राज्यबीच बनाइएका यी विशाल भूमिगत गुफाहरूमा अमेरिकाले ७० करोड ब्यारेल कच्चा तेल भण्डारण गरिरहेको छ ।
लामो खोज र अनुसन्धानपछि अमेरिकाले बनाएका ती गुफा संसारकै ठूला आपतकालिन इन्धन भण्डारणगृह मानिन्छन् । यी भण्डारण कक्षहरु नुनिला छन् । नुनिलोपनले तेल बिग्रनबाट बचाइरहेको छ ।
अहिले अमेरिकी बजारमै कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.६५ अमेरिकी डलर पुगिसकेको छ । यो तेलको मूल्य बृद्धिको अधिकतम् विन्दु हो । इन्धन आपूर्तिमा ठूलो रकम खर्च गर्ने देशहरुमा व्यापार घाटा चुलिदै गैरहेको छ ।
उता ‘ओपेक’ लगायत तेल निर्यातक देशहरुले तेलको मूल्य बढाउन आपसी साँठगाँठ गरेको आरोप अमेरिकालगायत औद्योगिक देशहरुले लगाइरहेका छन् ।
प्राकृतिक विपद्, महामारी र राष्ट्रिय सुरक्षा संकट निम्तिएका बेला मात्र प्रयोग गर्ने भनिएको यो तेल भण्डारण अहिलेको अवस्थामा प्रयोगमा ल्याउन थालेपछि अमेरिका तेल किन्न नसक्ने गरी आन्तरिक आर्थिक संकटमा फस्दै गैरहेको त होइन भन्ने आशंका र तर्क पनि आइरहेका छन् ।
यस अघि सन् २०१९ मा साउदी अरेबियाका मुख्य प्रशोधनस्थलमा हमला भई भीषण आगलागी हुँदाका बखत अमेरिकाले उक्त आपतकालीन तेल भण्डारमा भण्डारण गरिएको तेल प्रयोगमा ल्याएको थियो ।
यस अघि सन् १९९१ मा खाडी युद्धका बेला र सन् २०११ मा अरब देशहरुमा फैलिएको आन्दोलन र गृहयुद्धका बेला भण्डारण गरिएको तेल प्रयोग गरिएको थियो ।