• आश्विन २१ २०८३, बुधबार

चीनकाे चमत्कार : चीनले भर्यो अन्तरीक्षमै स्याटेलाइटमा इन्धन

आश्विन २० २०८३, मंगलवार

चीनले अन्तरीक्षमा अर्को चमत्कार गरेर देखाएको छ । सेप्टेम्बरको अन्तिम सातातिर चीनले अन्तरीक्षमा रहेको आफ्नो बेइडाउ नेभिगेसन स्याटेलाइटमा सफलतापूर्वक इन्धन भरेको छ ।

अन्तरीक्ष विज्ञानको क्षेत्रमा यो एक आश्चर्यजनक उपलब्धि हो । मानव मात्रले गरेको यो एउटा ठूलो र दुर्लभ चमत्कार हो । यसले अन्तरीक्षको सिङ्गो सोच र गतिविधिमा अर्को नवीन अध्यायको दीगो र फराकिलो जग बसाउने आधार तयार पारेको छ ।

यो सफल प्रयोगले पृथ्वीको सिङ्गो सूचनासञ्चार जगतलाई दीर्घायु बन्न मद्दत गरेको छ । चीनको यो पछिल्लो सफलताले अन्तरीक्ष गतिविधिमा स्थुल माध्यमको काम गरिरहेका स्याटेलाइट सिस्टमका लागि रामायण महाकाब्यमा ‘सञ्जीवनी बुटी’ भेटेको पौराणिक कडीको स्मृतिमा पुर्‍याएको छ ।

साँच्चै नै बेइडाउ नेभिगेसन स्याटेलाइटमा सफलतापूर्वक इन्धन भरिएपछि यसले भू–उपग्रहहरूको आयु बढाउन नयाँ प्रविधिको सफलताको आयामलाई अघि बढाइसकेको छ । यसले अमेरिका लगायतका विश्व अतिमहाशक्तिहरूलाई अत्तालिने बनाएको छ ।

अन्तरीक्ष कक्षमै सफलतापूर्वक इन्धन स्थानान्तरण गरेपछि अमेरिकी अनुसन्धान अथोरिटी ‘नासा’ र एलन मस्कको ‘स्पेस एक्स’ यसको थप सत्यताको खोजीका लागि आफ्ना अन्तरीक्ष लेखाजोखा र आँकडा भिडाउन रातदिन लागिपरिरहेका छन् । यसलाई आफ्नो तर्फबाट पुष्टि गर्नुभन्दा पनि चिनियाँ सफलतालाई ढाकछोप गरी आफूहरूले यसो गरेर देखाउनेतिर उद्धत रहेका देखिन्छन् ।

तर चीनको सरकारी कोषबाट सञ्चालित डीप स्पेस एक्सप्लोरेसन ल्याबोरेटरीले यो सफलता सार्वजनिक गरिसकेको छ । उक्त संस्थामा कार्यरत अनुसन्धानकर्ताहरूका अनुसार यो कार्य सफलतापूर्वक सम्पन्न भइसकेको हो ।

यो चामत्कारिक कार्यमा तेल भर्न एक ‘ट्याङ्कर स्याटेलाइट’ प्रयोग गरिएको थियो । यो टयाङ्कर स्याटेलाइटले बेइडाउ स्याटेलाइटको नजिक पुगेर डकिङ गरी इन्धन भरेको थियो । चिनियाँ डिप स्पेश ल्याबोरेटरीका अनुसार सामान्य तापक्रमको इन्धन स्याटेलाइटमा विनाव्यवधान सहजै स्थानान्तरण गरिएको थियो ।

यस पटकको इन्धन स्थानान्तरणमा १४२ किलोग्राम इन्धन बेइडाउ स्याटेलाइटमा भरिएको छ । यो इन्धनले बेइडाउ नेभिगेसन स्याटेलाइटको सञ्चालनको अवधि थप ८ वर्ष बनाएको छ । बेइडाउ नेभिगेसन प्रणाली अमेरिकी जीपीएस प्रणालीको विकल्पका रूपमा चीनले विकास गरेको ग्लोबल नेभिगेसन प्रणाली हो ।

अन्तरीक्षमा यसरी फ्युल भरिनुपूर्व पठाइएका स्याटेलाइट इन्धन सकिएपछि काम नलाग्ने हुनजान्थे । र, अर्को नयाँ स्याटेलाइट पठाउनु पर्ने हुन्थ्यो । नयाँ स्याटेलाइट प्रक्षेपणमा फेरि पनि सम्पूर्ण कुराको नयाँ निर्माणले निकै खर्चिलो र प्रक्षेपण पनि चिन्ताजनक हुनजान्थ्यो ।

हालसम्म अमेरिकाले सबैभन्दा बढी र चीन, रसियासहित अन्य विकसित देशले दर्जनौं स्याटेलाइट अन्तरीक्षमा पठाएर अन्तरीक्षमा मानव निर्मित यन्त्रहरूको भीडभाड बनाएका छन् । म्याद सिद्धिएका र काम नलाग्ने कुडा र साना पिण्डका रूपमा यी वस्तु पृथ्वीको वरिपरि घुमिरहेका छन् ।

चीनले फ्युल भर्ने नयाँ पद्धतिको विकास गरेको आजका दिनबाट अन्तरीक्षमा पटकै पटक नयाँ नयाँ स्याटेलाइट यन्त्रहरू प्रक्षेपण गरिरहनुपर्ने झन्झट साफ हुन गएको छ । यसबाट अन्तरीक्ष पनि सफा र पृथ्वीको पैसा, रेयर अर्थ र खनिजको पनि बचत हुन गएको छ ।

साथै, अन्तरीक्ष गतिविधिमा पनि दीगोपना कायम हुन जाने देखिएको छ । यसले कृत्रिम बौद्धिकताको एकपछि अर्को सफल प्रयोग र मानव हितका लागि यसको उपयोगको उज्यालो पक्ष पनि देखाएको छ ।

तर महाशक्ति राष्ट्रका बीचमा भने थप प्रतिस्पर्धा, इर्ष्या र अन्तरीक्ष युद्धको संभावनालाई बल भने दिएको छ । तत्कालका लागि यो कदमको सफलताले चिनियाँ अर्थतन्त्रलाई थप मौलाउन निकै ठूलो मद्दत गर्ने देखिएको छ ।