• भाद्र २८ २०८३, आईतवार

युएईलाई ४४ रनले हराउँदै नेपालले जित्याे एसीसी प्रिमियर कपको उपाधि

भाद्र २७ २०८३, शनिबार

काठमाडौं । नेपालले युएईलाई ४४ रनले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमस क्रिकेट ओभलमा नेपालले दिएको ३१४ रनको बलियो लक्ष्य पछाएको युएई ४९.१ ओभरमा २६९ रन बनाउँदै अल आउट भएको हो।

यो उपाधिसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो।

युएईका लागि राहुल चोपडाले सर्वाधिक १०० रनको शतकीय पारीसहित अविजित रहे। उनले १०५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। उनको शतक युएईका लागि जित दिलाउन भने काफी रहेन।

ओपनर ब्याटर तानीश सुरीले ४२ रन बनाउँदा कप्तान हरप्रित सिंहले ३३ रन बनाए। सोहीब खानले ५२ रन बनाउँदा खुजाइमा बिन तानभिरले १५ रन बनाएर क्याचआउट भए।‌

नेपालका लागि बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले २ लिँदा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी रोहित पौडेल,गुल्सन झा र वसिर अहमदले १/१ विकेट लिए।

त्यस अघि,पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्का सहित १०२ रन बनाए। पहिलो विकेटका लागि अर्का ओपनर अर्जुन कुमालसँग उनले ९७ रनको साझेदारी बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अर्जुन कुमाल ४३ रन बनाउँदै रन आउट भए।

वान डाउनमा आएका इशान पाण्डेले १३ रन बनाउँदा रोहित कुमार पौडेलले ४० रन बनाएका हुन् । गुल्सन झाले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले।

ऐरीले १८ रन बनाउँदा सन्दिप जोरा र करण केसी भने सस्तैमा पेभेलियन फर्किए। कप्तान लामिछाने डकआउट हुँदा,वसिर अहमद १५ र ललित राजवंशी १ रनमा अविजित रहेका थिए।

युएईका लागि बलिङतर्फ,इब्रार अहमदले सर्वाधिक ४ विकेट लिए। खुजाइमा बिन तान्भिरले २ विकेट लिँदा हैदर अलि र अदिब उस्मानीले १-१ विकेट लिए।

प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट र फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन्।

नेपालले प्रतियोगिताको समूह चरणमा चार खेल खेल्दा तीन जित निकालेको थियो। बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको नेपाल हङकङसँग भने पराजित भएको थियो।

तीन जितसहित समूह विजेताको रुपमा नेपाल सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

नेपालले सन् २०२३ मा पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो। घरेलु मैदानमा युएईलाई नै ७ विकेटले पराजित गर्दै नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो।