काठमाडौं। मगर भेजा समाज नेपालले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
समाजका अध्यक्ष तथा पूर्व डीआईजी पार्वती थापा मगरको अध्यक्षतामा बसेको भर्चुअल बैठकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाको तर्फबाट राहत कोषमा रु. १ लाख जम्मा गर्ने निर्णय गरेको हो।
बैठकमा गत भाद्र १० गते भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल भएको थियो।
बाढीका कारण भएको जनधनको अकल्पनीय क्षतिप्रति मगर भेजा समाज नेपालले गहिरो दुःख व्यक्त गरेको छ। विपद्मा परी ज्यान गुमाएकाहरूको सम्झनामा बैठकले एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
त्यस्तै, समाजले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकको यस घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ। बाढीका कारण घाइते तथा प्रभावित भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
मगर भेजा समाज नेपालले ठूलो मानवीय तथा भौतिक क्षति भएको दुःखद परिस्थितिमा सामाजिक संस्थाको हैसियतले पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।
सोही जिम्मेवारीबोध गर्दै बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा संस्थाको तर्फबाट रु। १,००,००० सहयोगस्वरूप जम्मा गर्ने निर्णय गरेको हो।
यससँगै समाजले संस्थाका इच्छुक सदस्य तथा अन्य सहयोगी व्यक्तिहरूलाई समेत बाढीपीडितको राहतका लागि स्वेच्छिक आर्थिक सहयोग गर्न आह्वान गर्ने भएको छ। इच्छुक सदस्य तथा व्यक्तिबाट सङ्कलित थप रकमसमेत राहत कोषको खातामा जम्मा गर्ने निर्णय बैठकले गरेको छ।
समाजले प्राकृतिक विपद्को कठिन समयमा सबै पक्षले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वका साथ प्रभावित समुदायलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएको छ।