• आश्विन ७ २०८३, बुधबार

जलवायु संकटकाे जिम्मा वातावरण मासेर नाफा कमाउनेहरूले लिनु पर्छ : महासचिव गुटेरस

आश्विन ७ २०८३, बुधबार

काठमाडाैं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा पुगेर तीव्र गतिमा हिमनदी पग्लिन थालेको बारे जानकारी गराएको बताएका छन्।

मंगलबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उद्घाटन सत्रमा बोल्दै उनले तीन वर्षअघि देखेको कुरा बोल्दा आफूलाई बढाइचढाइ गरेको भन्दै बेवास्ता गरिएको बताए। तर अहिले दु:खद् घटनाहरू देखा पर्न थालेको बताएका हुन्।

‘तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिने क्रममा रहेको चेतावनी दिएको थिएँ। केहीले त्यसलाई खतराको बढाइचढाइ गरिएको भन्दै बेवास्ता गरे,’ उनले भने, ‘तर हालैका दुःखद घटनाहरूले देखाए झैं, प्रभावहरू धेरैले अनुमान गरेभन्दा चाँडो आइरहेका छन्, अझ गम्भीर हुँदै गएका छन् र अझ व्यापक रूपमा फैलिरहेका छन्।’
उनले अहिले विश्व १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको सीमा नाघ्ने लगभग निश्चित अवस्थाको सामना गरिरहेको बताए।
उनले जलवायु संकट गम्भीर भए पनि स्वच्छ ऊर्जाको विकासले आशाको आधार दिएको बताए। त्यसैगरी महासचिव गुटेरसले जलवायु संकटबाट भएको क्षतिको जिम्मेवारी बढी प्रदूषण गर्ने र त्यसबाट बढी नाफा कमाउनेहरूले लिनुपर्ने बताएका छन्।

‘सबैभन्दा बढी प्रदूषण गर्ने र त्यसबाट सबैभन्दा बढी नाफा कमाउनेहरूले आफूले पुर्‍याएको क्षतिको क्षतिपूर्ति गर्न अझ धेरै काम गर्नुपर्छ। प्रदूषण गर्नेहरूले त्यसको मूल्य चुकाउनुपर्छ,’ उनले भने, ‘र उनीहरूलाई जवाफदेही बनाउन काम गरिरहेका नेता, सहर, नागरिक समाज र नागरिकहरूलाई म भन्छु तपाईंहरू इतिहासको सही पक्षमा हुनुहुन्छ। आफ्नो काम जारी राख्नुहोस्।’

उनले विकसित देशहरूले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने, अनुकूलन वित्त तीन गुणा बढाउनुपर्ने र हानि तथा क्षति कोषलाई पर्याप्त स्तरमा सञ्चालन गर्नुपर्ने बताए।