• आश्विन ७ २०८३, बुधबार

निजी संचारमाध्यमलाई हाम्रै सरकारले समस्यामा पार्यो : रास्वपा सांसद हरि पन्त

आश्विन ७ २०८३, बुधबार

वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले निजी सञ्चारमाध्यमप्रति सरकारले लिएको नीति सच्याउन माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद पन्तले निजी सञ्चारमा सरकारी विज्ञापनमा लगाइएको रोक र लोक कल्याणकारी विज्ञापनमा गरिएको कटौती जस्ता नीतिले निजी सञ्चारमाध्यमहरू समस्यामा परेको बताए ।

निजी सञ्चारमाध्यमप्रति सरकारका पछिल्ला निर्णयहरूप्रति असहमति जनाउँदै उनले पत्रकारहरू पेशागत हकहित र मागहरू लिएर सडकमै उत्रिनुपर्ने परिस्थितिको सिर्जना हुनु दुःखद भएको बताए ।

सरकारले स्वरोजगारमूलक र साना लगानीका सञ्चारमाध्यमलाई राहतस्वरुप दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकममा कटौती गरेको विषय ,राष्ट्रिय समाचार समितिले विज्ञापन शुल्कमा अस्वाभाविक वृद्धि गरेको विषय र निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन वितरणमा लगाइएको रोकले समग्र सञ्चार क्षेत्रलाई गम्भीर असर पुऱ्याएको उनको भनाइ छ।
सरकारका यस्ता नीति तथा निर्णयले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेका स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुको सट्टा झनै समस्यामा पारेको भन्दै उनले आन्दोलित नेपाल पत्रकार महासंघलगायतका सम्बद्ध संघसंस्थाहरूसँग अविलम्ब संवाद गरी जायज मागहरू यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरे।