लन्डन । पर्वत पैयुँखोला होश्राङ्दीका ८६ वर्षीय समाजसेवी पदमबहादुर थापा मगरले नेपालमा बाढी-पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगार्थ एक लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाल बेलायतको प्लम्बस्टिड, लन्डनमा बस्दै आएका थापा मगरले आफ्नी स्वर्गीय श्रीमती धनसरी थापामगरको पुण्यप्राप्तिको कामना गर्दै उनले स्मृतिमा सिएसिबिजि मार्फत नेपालका बाढी–पहिरो पीडितका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
थापा मगरको सहयोग प्रतिबद्धताप्रति सिएसिबिजि CNCBG अध्यक्ष थर्क रानाले हार्दिक धन्यवाद व्यक्त गरे । अध्यक्ष रानाले थापा मगरको सहयोगले विपद्मा परेका नागरिकलाई राहत पुग्नुका साथै मानवीय सेवाको भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
सिएसिबिजि CNCBG ले नेपालमा बाढी–पहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि विश्वभरबाट भइरहेको सहयोगप्रति सम्मान व्यक्त गर्दै राहत रकम नेपाल सरकारसमक्ष औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी समेत गरिरहेको जनाएको छ।
सिएसिबिजिद्वारा नेपाल बाढी-पहिरो पीडित राहत सहयोगसम्बन्धी सार्वजनिक अपिल
विश्वभरका बेलायती गोर्खा नेपाली- तथा नेपाली संघ-संस्थाका अध्यक्ष ज्यूहरू, पदाधिकारीहरू तथा सदस्यज्यूहरूमा नमस्कार, नेपालमा आएको बाढीपहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि विश्वभरबाट भइरहेको सहयोगप्रति CNCBG हार्दिक सम्मान व्यक्त गर्दछ। यसै सन्दर्भमा CNCBG ले संकलित राहत रकम नेपाल सरकारसमक्ष औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारीमा छ।
यदि तपाईंहरूको संस्था तथा तपांइले राहत रकम हस्तान्तरण गरिसक्नुभएको छ भने, कृपया संक्षिप्त विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ। यदि बाँकी छ भने सम्भव भएसम्म CNCBG मार्फत संयुक्त रूपमा हस्तान्तरण गर्ने विषयमा पनि सकारात्मक विचार गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। हाम्रो उद्देश्य कुनै संस्थाको योगदानलाई एकीकृत गर्ने होइन, तर विश्वभरका बेलायती गोर्खा नेपाली समुदायको मानवीय एकता, ऐक्यबद्धता र मातृभूमिप्रतिको समर्पणलाई एउटै सशक्त सन्देशका रूपमा प्रस्तुत गर्नु हो। एकताबद्ध बनौँ, सहयोग गरौँ, र मानवताको सेवामा सँगै अघि बढौँ ।