पृष्ठभूमि
करबलामा इमाम हुसैन अलैहिस्सलामका जानिसारहरुले यजीदी सेनाको संख्या अत्यन्तै धेरै हुँदा पनि सत्य र न्यायको साथ छोड्न अस्वीकार गरे । एक एक गर्दै यी वीर योद्धाहरू युद्धभूमिमा उत्रिदैं गए । उनीहरूले अद्भुत साहस, धैर्य र दृढताका साथ लडे उनीहरु अन्तिम स्वाँस सम्म आफ्नो उद्देश्यमा अडिग रहे । करबलाका ती शहीद जसले शहादत प्राप्त गरी आफ्नो पछाडि यस्तो आदर्श छोडे । हेर्ने हो भने आज पनि त्यसले संसारभरिका मानिसका हृदयलाई प्रेरित गरिरहेको छ ।
करबलामा शहीद हुनेहरूमध्ये इमाम हुसैन अलैहिस्सलामका छोरा निर्दोष दूधे बालक छ महिनाका अली असगर पनि थिए । उनको शहादत करबलाको सबैभन्दा हृदयविदारक घटनामध्ये एक मानिन्छ । बाँकी सबै शहीदहरू साहसी जवान र पुरुष थिए । जसले अत्यन्त कठिन परिस्थितिमा पनि आफ्नो साहस गुमाएनन् । इमाम हुसैनको परिवारबाट केवल एक जना पुरुष उहाँका सुपुत्र इमाम अली इब्ने हुसैन इमाम ज़ैनुल आबिदीन जीवित रहनुभयो । किनकि उहाँ त्यसबेला अत्यन्तै रूपमा बिरामी हुनुहुन्थ्यो । त्यसैले युद्धमा सहभागी हुन सक्नुभएन् । अल्लाहको इच्छा अनुसार उहाँको जीवन सुरक्षित रह्यो ।
अन्ततः त्यो अत्यन्त पीडादायी क्षण आयो, जसले इतिहासको दिशा नै परिवर्तन गरिदियो। १० मुहर्रम अर्थात् आशूराको त्यो शोकपूर्ण दिन जसको सम्झनाले आज पनि संसारभरका करोडौँ मानिसका हृदयलाई भावुक बनाउँछ र हामीलाई सत्य, धैर्य र कुर्बानीको सन्देश दिन्छ । आशूराको दिन इमाम हुसैन अलैहिस्सलाम र उहाँका वफादार साथीहरूको शहादतपछि बाहिरी रूपमा हेर्दा सबै कुरा समाप्त भइसकेको जस्तो देखिन्थ्यो । करबलाको मैदान शहीदहरूको लाशले भरिएको थियो, खेमाहरू जलाइएका थिए, शहीदहरूको शरीरमाथि घोडा कुदाइएका थिए, लाशहरू लुटिएका थिए, र महिला तथा बालिकाहरूका गहना खोसिएका थिए ।
गहना लुट्ने क्रममा छ वर्षीया सैय्यदा सकीनाको कानमा लगाएको मुन्द्री जबरजस्ती तान्दा उहाँको कान च्यातिएको र रगत बगेको थियो । त्यसपछि जीवित रहेका इमाम ज़ैनुल आबिदीन, अहलेबैतका महिलाहरू र बालबालिकालाई बन्दी बनाएर यजीदको दरबारतर्फ लगियो । भनिन्छ सत्यको संघर्ष तरबारको जित वा हारसँगै समाप्त हुँदैन् । करबलाको वास्तविक विजय त्यसपछि सुरु भयो । बन्दी जीवनको कठोर अवस्थामा समेत अहलेबैतका महिलाहरू विशेषगरी हजरत ज़ैनब सलामुल्लाहि अलैहा र इमाम हुसैन अलैहिस्सलामका छोरा इमाम ज़ैनुल आबिदीन अलैहिस्सलामले आफ्ना ऐतिहासिक सम्बोधन र अटल साहसद्वारा यजीदको अत्याचारलाई उजागर गर्नुभयो । उहाँहरूले करबलाको सन्देशलाई इतिहासको पानाबाट मानवताको चेतनासम्म पुर्याउनुभयो।
सन् ६१ हिजरीमा करबलामा जुन तरिकाले बर्बरता र अमावीयताको हद पार गरियो । त्यसको बारेमा सत्य र यथार्थ सन्देश संसारभरि पुर्याउनुमा अहलेबैतका महिलाहरूको निकै अहम् भूमिका रहेकोछ ।
शहादते हुसैन पश्चातको परिवेश
जब करबलाको युद्ध सकियो इमाम हुसैन र उनका साथी शहीद भए । त्यसपछि त्यत्तिकै महत्त्वपूर्ण अध्याय र बर्बरताको अर्को चरण सुरु भयो । किनकि इमाम हुसैन अलैहिस्सलामको शहादत पश्चात इमाम जैनुल आबेदीन सिकिस्त विरामी रहनु भएकोले अब इमाम हुसैन अलैहिस्सलामको साथमा करबला आउने जतिको नेतृत्व हजरत सैय्यदा जैनब बिन्ते अली अलैहिस्सलामले गर्नुभयो । करबलामा आशूरको रात थियो चारैतिर अन्धकार, शोक, पीडा र अन्योलको अवस्था थियो ।
यस्तो अवस्थामा हजरत सैय्यदा जैनब सलामुल्लाहे अलैहाले सम्पूर्ण काफिलालाई सम्हाल्नुभयो । आफ्ना दाजुभाइ, भतिजाहरू र आफ्नै छोरा औन र मुहम्मदको शहादतको गहिरो पीडा सहेर पनि उहाँले धैर्य र साहस गुमाउनु भएन् । जलेका खेमाहरूका बीच महिला र बालबालिकालाई एकत्रित गर्नु, बिरामी इमाम जैनुल आबिदीन अलैहिस्सलामलाई जल्दै गरेको खेमाबाट आफ्नो पिठ्यूँमा बोकेर बाहिर निकानुभयो । साथै अन्य बालबालिकाहरुलाई पनि जल्दै गरेको खेमाबाट बचाइकन निकालेर बाहिर ल्याउनुभयो । आशूराको त्यो भयानक रातमा लाखौं यजीदी लश्करको उपस्थितिमा इमाम जैनुल आबेदीनको सुरक्षा गर्नु र सम्पूर्ण परिवारलाई सान्त्वना दिनु सबैलाई सम्हाल्नु चानचुने कुरा थिएन् ।
यही क्षण थियो जहाँबाट फातहे खैबर मौला अली अलैहिस्सलामको जुल्फेकार सैय्यदा जैनबको वाणीमा परिणत भयो । करबलाको मैदान त्यतिबेला संसारबाट टाढा र सुनसान स्थान थियो । त्यतिबेला कुनै यस्तो संचार माध्यम थिएन् जसबाट वास्तविक समाचार तुरुन्तै संसारभरि फैलिन सकियोस् । तब सैय्यदा जैनब सलामुल्लाहे अलैहाले आफ्नो खुत्बाको मार्फत संसारलाई करबलाको वास्तविक दास्तान ए करबला सुनाउन सुरु गर्नुभयो ।
यदि अहलेबैतका महिलाहरुमा सैय्यदा जैनब सलामुल्लाहे अलैहा जतिको महिलाहरु नभएका भए सम्भवतः करबलाको घटना यजीदको सरकारी मनगढन्ते बयानबाजीहरू सम्म मात्र सीमित हुन पुग्थ्यो । तर हजरत सैय्यदा जैनब बिन्ते अली र उम्मे कुलसूम बिन्ते अलीले त्यसो हुन दिनुभएन् । कूफादेखि शामसम्मको यात्राको क्रममा हरेक अवसरमा उहाँहरूले मानिसहरूलाई रसूलुल्लाह ﷺ का नवासामाथि कसरी बर्बरताको सीमा पार गरी उहांहरुमाथि कुन हद सम्म दमन गरियो, कसरी उहाँहरूलाई प्यासै राखियो र परिवारमाथि कस्तो अत्याचार गरियो भन्ने कुरा बताउनुभयो।
कूफामा सैय्यदा जैनबको ऐतिहासिक खुत्बा
कूफामा हजरत सैय्यदा जैनब सलामुल्लाहे अलैहाको ऐतिहासिक खुत्बा त्यहाँका मानिसहरूका लागि ऐना साबित भयो । जुन ऐनामा जस जसले इमाम हुसैनलाई आउनुहोस् हामी बयत (समर्थन) गर्छौं भनेर पत्र लेखेका थिए र पछि साथ छोडेका थिए, उनीहरूले आफ्नो छवि देखे र आफ्ना कर्मप्रति पश्चाताप गर्न थाले । सैय्यदा जैनबले आफ्नो खुत्बामार्फत उनीहरूलाई केवल रुवाउनु मात्र भएन, बरु उनीहरूको जिम्मेवारी पनि बोध गराउनुभयो। त्यसैगरी दमिश्कको दरबारमा जहाँ दमरकारी सत्ता र शक्ति आफ्नो चरम घमण्डमा सिंहासनमा विराजमान थियो । त्यहाँ एक बन्दी महिलाको आवाजले दरबारभित्रको माहौल नै परिवर्तन गरिदियो । उहाँले स्पष्ट भन्नुभयो कि “वास्तविक विजय तरबारको होइन् , सत्यको हुन्छ र अल्लाहको अदालतमा हरेक अत्याचारीले जवाफ दिनुपर्नेछ।”
यजीदले जब सत्ता र जीतको नशामा सैय्यदा जैनब सलामुल्लाहे अलैहालाई इन्कित गरेर भन्यो ‘देख्यौ मेरो तागत र शक्ति, तिम्रा भाइभारदार र आफन्तहरुलाई मारिदिएकोछु । आज तिमीहरु मेरो दरबारमा कैदी भइ उपस्थित भएकाछौ’ ।
यो कुरा सुनेर सैय्यदा जैनब सलामुल्लाहे अलैहाले यजीदलाई जवाफ दिँदै भन्नुभयो “यो डोरी र जन्जीर हाम्रो लागि अल्लाहको तर्फबाट परिक्षा मात्र हो । सक्छौ भने त्यो झ्यालबाट आउने हावा रोक, बाहिर बसेका ऊंटहरुको घांटीमा बाँधिएका घन्टीको आवाज मलाई मन पर्दैन् सक्छौं त्यो ऊंटको हल्लिँदै गरेको घांटी रोक, (यत्तिकैमा अजान हुन थालेछ सैय्यदा जैनब अजानको आवाज सुनेर एकछिन मौन हुनुभयो अजान सकिएपछि पुनः खुत्बा दिन सुरु गर्नुभयो र भन्नुभयो ) यो अजानमा “असहदु अन्ना मुहम्मदुर्रसूलुल्लाह” जुनकि मेरो हजुरबुवा पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको नाम आउंछ ,सक्छौं भने आफ्नो हजुरबाको नाम राख् ।
मलाई थाहा छ तिमी यी मध्ये केही पनि गर्न सक्दैनौं” यतिकैमा झ्यालबाट आउने हावा रोकियो, ऊंटको घाँटी बाँधेको घण्टीको आवाज आउन रोकियो, सारा दरबारी मुर्दा सरह भइ दिए । एकछिनपछि यजीदको जिउ हल्लियो जबकि बाकी दरबारी अझै लाश सरह ज्यूं का त्यूं थिए । सैय्यदा जैनब सलामुल्लाहे अलैहाले यजीदलाई भन्नुभयो “यो हो हाम्रो शक्ति तर अहिले हामी यहाँ शक्ति प्रदर्शन गर्न आएका छैनौं ।”
करबलाका महिलाहरूको भूमिका केवल खुत्बा र भाषणहरूमा सीमित थिएन् । उम्मे वहबजस्ता महिलाहरूले त युद्धमैदानमै आफ्नो श्रीमान् सँगै शहादत प्राप्त गर्नुभयो । वहब कलबीलाई यजीदीहरुले शहीद गरेर उनको शिर वहबकी आमाको खेमाको अगाडि फालिदिए । यो सोचेर कि आमा हो दुःख हुन्छ रुन्छिन् होला । तर वहब कलबीकी आमाले आफ्ना छोराको काटिएको टाउको देखेर पनि सब्र र ईमानको यस्तो उदाहरण प्रस्तुत गर्नुभयो । जुन उदाहरण इतिहासमा पाउनै गाह्रो छ । उनले आफ्नो छोरा वहब कलबीको फालिएको शिर उठाएर यजीदी सेनाको तर्फ उछिट्टियाएर फालिन् र भनिन् “हामी जुन कुरा दान गरिदिन्छौं त्यो फिर्ता लिदैनौं ।”
हजरत उम्मे कुलसूम सलामुल्लाहि अलैहा अमीरुल मोमिनीन हजरत अली अलैहिस्सलाम र हजरत फातिमा ज़हरा सलामुल्लाहि अलैहाकी सुपुत्री तथा इमाम हसन अलैहिस्सलाम, इमाम हुसैन अलैहिस्सलाम र हजरत ज़ैनब सलामुल्लाहि अलैहाकी बहिनी हुन् । उहाँ अहलेबैतका सम्मानित महिलामध्ये एक हुन् जो आफ्नो ज्ञान, तक्वा, शालीनता तथा धैर्यका लागि परिचित हुनुहुन्थ्यो । करबलामा उहाँ इमाम हुसैन अलैहिस्सलामसँगै हुनुहुन्थ्यो।
आशूराको दिन आफ्ना भाइ, भतिजा, आफन्त र वफादार साथीहरूको शहादतको हृदय विदारक घटना उहाँले आफ्नै आँखाले देख्नुभयो । इमाम हुसैन अलैहिस्सलामको शहादतपछि अन्य अहलेबैतका महिला र बालबालिकासँगै उहाँलाई पनि बन्दी बनाएर कुफा हुँदै यजीदको दरबारमा लगियो। कैदको यात्रामा हजरत उम्मे कुलसूमले हजरत ज़ैनब सलामुल्लाहि अलैहासँग मिलेर अहलेबैतका महिला र बालबालिकाको हेरचाह गर्नुको साथै अत्याचारको विरुद्ध सत्यको आवाज बुलन्द गर्नुभयो ।
उम्मे लैला जो अली अकबरकी आमा हुन् । करबलाको युद्धभूमिमा जानुअघि उहाँले आफ्नो छोरालाई स्वयं बिदाइ दिनुभयो । इमाम हुसैनको अनुरोधमा छोरा अली अकबरको सफलताका लागि दुआ गर्नुभयो । यसै गरी उम्मे रबाब (रबाब बिन्त इम्रिउल-कैस) महान् त्याग, धैर्य र वफादारीको प्रतीकका रूपमा परिचित हुनुहुन्छ । उहाँ इमाम हुसैन इब्ने अलीकी पत्नी तथा करबलाका शहीद दुई सन्तान अली असगर इब्न हुसैन र सकिना बिन्ते हुसैनकी आमा हुनुहुन्छ । उम्मे रबाबले असाधारण धैर्य र सब्र प्रदर्शन गर्नुभयो ।
उहाँले आफ्ना दूधे छोरा अली असगरको शहादत आफ्नै आँखाले देख्नुभयो । साथै आफ्ना पति इमाम हुसैन अलैहिस्सलामको शहादतको पीडा पनि सहनुभयो । आफ्नी छोरी सैय्यदा सकीनाको शहादतको पीडा सहनुभयो । करबलाबाट यजीदको दरबार सम्म उहाँलाई पनि कैदी बनाएर लगियो । इमाम हुसैन अलैहिस्सलामको शहादत पश्चात उहाँले पुनः विवाह गर्न अस्वीकार गर्नुभयो र आफ्नो बाँकी जीवन इमाम हुसैनको सम्झनामा बिताउनुभयो ।
उम्मे फरवालाई अहलेबैतका सम्मानित महिलामध्ये एक मानिन्छ । उहाँ इमाम ज़ैनुल आबिदीन अलैहिस्सलामकी आमा हुनुहुन्छ । उहाँका पिता अल-कासिम इब्न मुहम्मद इब्न अबी बक्र प्रसिद्ध ताबिई र फकिह हुनुहुन्थ्यो। उम्मे फरवा एक प्रतिष्ठित धार्मिक र ज्ञानसम्पन्न परिवारकी छोरी हुनुहुन्छ । उम्मे फरवाको सबैभन्दा ठूलो परिचय कि उहाँले करबलामा जीवित रहने अहलेबैतका पुरुष इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम जस्ता महान् व्यक्तित्वलाई जन्म दिनुभयो ।
जो आफ्नो इबादत, तक्वा, सदाचार र अहलेबैतप्रतिको समर्पणका लागि प्रसिद्ध हुनुहुन्छ । यसै गरी अन्य महिलाहरूले आफ्ना सन्तानहरुलाई र आफन्तहरूलाई सत्यको मार्गमा बलिदान दिन प्रेरित गरिरहनुभयो । उनीहरूले आंशु बगाउनु र विलाप गर्नु भन्दा पहिले इमाम हुसैन अलैहिस्सलामको उद्देश्यलाई बुझ्नुभयो र आफ्ना सन्तानलाई जीवनभन्दा ठूलो कुरा सत्य र असल सिद्धान्त हुन्छ भनी शिक्षा दिन सकिन्छ ।
हजरत फिज्जा (रज़ि.) मूल रूपमा हबशबाट आएकी थिइन् । त्यसैले उहाँलाई “फिज्जा अल-हबशिय्या” पनि भनिन्छ । इस्लामिक इतिहासमा उहाँ अहलुलबैतप्रति आफ्नो अनुपम वफादारी, सेवा र त्यागका लागि प्रसिद्ध हुनुहुन्छ । करबलामा उहाँले महिला तथा बालबालिकाको हेरचाह, आवश्यक सहयोग र कठिन परिस्थितिमा पनि सेवा गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । इमाम हुसैन इब्ने अली र उहाँका साथीहरूको शहादतपछि उहाँले सबैलाई सान्त्वना र हौसला दिनुभयो।
करबलापछि कूफा र दमिश्कसम्मको कैदी यात्रामा उहाँले सैय्यदा जैनब बिन्त अली लगायत अहलुलबैतका महिलाहरूको सेवा गर्दै साथ निभाउनुभयो । केही परम्परागत शिया रिवायतहरूमा उल्लेख भए अनुसार, यजीदले आफ्नो दरबारमा सैय्यदा जैनब (स.अ.) को सम्मानमा आघात पुर्याउने शब्द प्रयोग गर्न खोज्दा हजरत फिज्जाले साहसपूर्वक विरोध गर्दै भनिन्: “हे यजीद! हामी हबशका मानिसहरू पनि आफ्ना राजपरिवारका महिलाहरूको यति अपमान गर्दैनौं। तिमी आफूलाई मुसलमानहरूको खलिफा भन्छौ, तर रसूलुल्लाह (सल्लल्लाहु अलैहि व आला आलेही वसल्लम) का परिवारका महिलाहरूको यसरी अपमान गरिरहेका छौ?”
त्यसपछि जब अहलेबैत मदिना फर्किए, तब उम्मुल मोमिनीन उम्मे सलमा (पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमकी पत्नी) र उम्मुल बनीन (हजरत अब्बास अलमदारकी आमा) जस्ता महिलाहरूले पनि करबलाको घटना र करबलाले दिएको सन्देशलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
उनीहरुकै पहल र प्रयासले गर्दा नै हुसैन अलैहिस्सलामको जिक्र र चर्चा घर घर सम्मै पुग्यो । मानिसहरूले करबलाको वास्तविकता बुझ्न थाले जुन इतिहास अबका आउने पुस्तासम्म सुरक्षित रही रहनेछ । यही कारण हो कि चौध सय वर्षपछि पनि करबला केवल एउटा ऐतिहासिक घटना नभई अत्याचारविरुद्ध आवाज उठाउनु पर्छ भन्ने सोच र कार्यको प्रतीक बनेको छ । इस्लाममा महिलाको वास्तविक भूमिका बुझ्नका लागि करबला एउटा उत्कृष्ट उदाहरण हो ।
करबलामा इमाम हुसैन अलैहिस्सलामको अडिगता सब्र हजरत सैय्यदा फातिमा जहरा सलामुल्लाहे अलैहाले दिनु भएको शिक्षा र आत्मविश्वासको उदाहरण हो । करबलाको युद्ध पश्चात हजरत सैय्यदा जैनब सलामुल्लाहे अलैहा र अहलेबैतका अन्य महिलाहरूले पनि एक साहसी, बुद्धिमान र धर्मनिष्ठ महिलाले सम्पूर्ण समाजको भविष्य परिवर्तन गर्न सक्छिन् भनी प्रमाणित गरीदिए ।
करबलाले दिने एउटा ठूलो प्रेरणा यो पनि हो कि एक बलियो समाज केवल पुरुषहरू बहादुरीबाट मात्र हुँदैन् । बरु ती दृढ महिलाहरूबाट पनि हुन्छ, जसले कठिन परिस्थितिमा धैर्य, साहस, दूरदृष्टि र सही निर्णय गर्ने क्षमता राखेर आवश्यक पर्दा त्यसलाई प्रदर्शन पनि गरी देखाउनुभयो । यस्तै महिलाहरूले घरलाई व्यवस्थित गरी स्वर्ग बनाउँछिन् । आफ्नो आउने पुस्ताको सही पालनपोषण र शिक्षादीक्षा गर्छिन् । आवश्यक परे इतिहासको दिशा नै परिवर्तन गर्न सक्छिन् ।
त्यसैले यो बुझ्न अति आवश्यक छ कि करबलाको घटना केवल शहीदहरूको वीरगाथा मात्र होइन्, ती महान महिलाहरूको वीरगाथा र साहसको जीवन्त उदाहरण पनि हो । जसले सत्य र न्यायको सन्देशलाई शताब्दीयौँसम्म जीवित राख्न विशेष योगदान पुर्याउनुभयो ।
निष्कर्ष
करबलाका अनेक शिक्षाहरुमध्ये एउटा शिक्षा यो पनि हो कि यदि घरका महिलाहरू सक्षम, साहसी, विवेकीशील र हरेक परिस्थितिको सामना गर्न सक्ने छिन् भने भविष्यमा उनीहरूले नै परिवार र समाजको दिशानिर्देश गर्न सक्ने सबैभन्दा ठूलो शक्ति बन्छिन् । तसर्थ असल महिलाहरूले केवल घर मात्र बनाउँदैनन्, उनीहरूले बलियो र सभ्य समाजको आधारशिला पनि निर्माण गर्छिन् ।