• भाद्र ६ २०८३, शनिबार

ओलीलाई हटाउने पक्षमा हाेइन, पार्टी पुनर्गठनकाे पक्षमा छाैं : शंकर पाेखरेल

भाद्र ६ २०८३, शनिबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू पार्टी अध्यक्ष केपी ओलीलाई हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

शनिबार मोरङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्सरचना र पुनर्गठनको प्रक्रियामा रहेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा नरहेको बताएका हुन्।

पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उनको भनाई छ । उनले एमालेको महाधिवेशन कहिले हुने भन्ने निर्णय गर्ने पूर्ण अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको धारणा राखे।

पार्टीमा रूपान्तरण आवश्यक रहेको स्वीकार गर्दै उनले जनतासँगको सम्बन्ध पुनः जोड्न र कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको तथा यसका लागि कार्यदल गठन गरिएको जानकारी दिए ।

महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका निम्ति संसदभित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको उल्लेख गरे।

पोखरेलले प्रधानमन्त्रीको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई रोकी लोकतन्त्रलाई सही मार्गमा ल्याउन राष्ट्रपतिसँग पनि संवाद गरिने उल्लेख गरे।

प्रधानमन्त्रीले संसदीय लोकतन्त्रका आधारभूत स्तम्भहरूको उपेक्षा गरेको र संसद्प्रति उत्तरदायी नबनेको उनको दाबी छ।