• भाद्र ७ २०८३, आईतवार

२३ र २४ भदौको घटना सफल ‘विदेशी-जासुसी विद्रोह’ थियाे : रवीन्द्र मिश्र

भाद्र ७ २०८३, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले २३ र २४ भदौको घटनालाई संसारकै एउटा सबैभन्दा सफल ‘विदेशी-जासुसी विद्रोह’ को संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार मिश्रले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘भदौ लाग्यो । गत वर्ष भदौ २३ र २४ मा भएको जनधनको पीडाले हामीलाई अझै छोडेको छैन । कहिल्यै छोड्ने छैन । मैले आजसम्म पहिलो दिनलाई ‘जेनजी विद्रोह’ र दोस्रो दिनलाई ‘घुसपैठ विद्रोह’ को संज्ञा दिँदै आएको थिएँ। संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरेपछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरेपछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल “विदेशी-जासुसी विद्रोह” को संज्ञा दिने निर्णय गरेको छु ।’

यस्तो विद्रोह जसमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था(हरू)ले निर्दोष नेपाली युवाहरूको पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई, उनीहरूले थाहै नपाउने गरी, प्रयोग गरे, र संसारमै सबैभन्दा सफलमध्येको “जासुसी विद्रोह” सम्पन गरेको उनको भनाइ छ ।

उनले अगाडि लेखेका छन्, ‘यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो । संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन ।’

त्यसपछिको लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन्, या उनीहरू अझै आफ्नो मिशनमा छन्, त्यो पनि थाहा नभएको उनले लेखेका छन् ।

तर भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे हलिवुडको कुनै विश्वविख्यात निर्देशकले ‘जासुसी सिनेमा’ निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
उनले लेखेका छन्. ‘स्थानीय युवा तथा जनता अनजानमै विद्रोहमा प्रयोग भएका कभर्ट अपरेसनहरू संसारमा धेरै छन्, जहाँ प्रयोग हुनेले ‘हामीले गरेको’ भन्ठान्छन् तर गर्नेहरू अरू नै हुन्छन् । नेपालमा भएको त्यही हो ।’

नेपालले आफ्नो दिर्घकालीन हितलाई सुनिश्चित गर्न चाहने हो भने भदौ २३ र २४ को घटनाको सक्दो गहिराइमा पुग्न प्रयास गर्नुपर्ने उनको तर्क छ । नेपालको आन्तरिक, यो क्षेत्रकै शान्ति र स्थिरताका लागि नवीन समझदारीमा जानै पर्ने उनको भनाइ छ ।