ललितपुर । ‘नीतिदेखि कार्यान्वयनसम्म विविध पहिचानलाई सम्मान गर्दै अन्तरछेदीय समानता र न्याय सुनिश्चित गरौं’ भन्ने मूल नारासहित ललितपुर महानगरपालिकाका वडा जनप्रतिनिधिहरूमाझ अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ-नेपाल (निडवान)को आयोजना तथा फिमिको सहयोगमा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) तथा सिडको सामान्य सिफारिस नं. ३९ का विषयमा ललितपुर महानगरपालिकाका २९ वटै वडाका महिला जनप्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको हो।

कार्यक्रमकी प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले आदिवासी महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न आफूले सक्दो पहल गर्दै आएको बताइन्। उनले आदिवासी महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क संकलन, विभेदको पहिचान तथा अभिलेखीकरण, निरन्तर पैरवी र अनुगमनका लागि वडा जनप्रतिनिधिहरूले घरदैलो भेटघाटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

उपप्रमुख शाक्यले समस्यामा परेका महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई न्याय तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधामा पहुँच सुनिश्चित गर्न वडा जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका हुने बताइन्। आदिवासी महिलालाई अधिकारसम्बन्धी शिक्षा तथा सचेतना प्रदान गर्न वडास्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी महिला जनप्रतिनिधिहरूले आफ्ना वडामा महिला, आदिवासी जनजाति महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यक्रम सञ्चालन गर्न खोज्दा आवश्यक बजेट तथा सहयोग प्राप्त गर्न कठिनाइ हुने गुनासो गरे।

विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यक्रम सञ्चालन गर्न महानगरपालिकासँग आवाज उठाउँदा समेत सुनुवाइ नभएको उनीहरूले बताए। कतिपय जनप्रतिनिधिले आफू महिला भएकै कारण घरपरिवार तथा समाजबाट हिंसा र विभेद खेप्नुपरेको अनुभवसमेत सुनाए। साथै, महानगरपालिकाका सम्बन्धित निकायबाट काम गर्ने अवसर तथा आवश्यक सहयोग नपाउँदा जनताको सेवा गर्न कठिनाइ भएको उनीहरूको भनाइ थियो।

सहभागीहरूले समाजमा अझै पनि अधिकारसम्बन्धी चेतना र शिक्षाको अभाव रहेको भन्दै राज्यबाट प्राप्त हुने सेवा–सुविधा तथा आफ्ना अधिकारबारे जानकारी नहुँदा धेरै नागरिक वञ्चित भइरहेको बताए। सिड तथा सिडको सामान्य सिफारिस नं. ३९ का विषयमा जनप्रतिनिधिसहित समुदायस्तरमा व्यापक सचेतना आवश्यक रहेको उनीहरूको भनाई थियो।


कार्यक्रममा निडवानकी अध्यक्ष डा. प्रतिमा गुरुङले सिड तथा सिडको सामान्य सिफारिस नं. ३९ का प्रमुख प्रावधानबारे प्रस्तुतीकरण गरिन्। उनले संयुक्त राष्ट्रसंघीय महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी समितिले अक्टोबर २०२२ मा जारी गरेको सामान्य सिफारिस नं. ३९ आदिवासी महिला तथा किशोरीहरूको अधिकार र सुरक्षामा केन्द्रित महत्वपूर्ण अन्तर्राष्ट्रिय कानुनी दस्तावेज भएको बताइन्।

उनका अनुसार सामान्य सिफारिस नं. ३९ ले आदिवासी महिला तथा किशोरीमाथि हुने अन्तरछेदीय विभेद अन्त्य गर्न र राज्यलाई आवश्यक नीतिगत तथा कानुनी कदम चाल्न स्पष्ट मार्गदर्शन प्रदान गर्छ।
डा. गुरुङले आदिवासी महिला, किशोरी तथा अपाङ्गता भएका व्यक्तिहरूका समस्या समाधान, बजेट विनियोजन, तथ्याङ्क संकलन, अधिकारको पैरवी तथा राज्यका संरचनालाई अपाङ्गतामैत्री र महिलामैत्री बनाउन स्थानीय जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताइन्।

उनले सिडको सामान्य सिफारिस नं. ३९ लाई जनमुखी बनाउन स्थानीय तहका जनप्रतिनिधिहरू यसबारे जानकार हुनुपर्ने र आफ्ना वडाका नागरिकलाई समेत जानकारी गराउनुपर्नेमा जोड दिइन्।
सामान्य सिफारिस नं.३९ ले विशेषगरी आदिवासी महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न राष्ट्रिय कानुन तथा नीतिमा सुधार, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, जलवायु न्याय, जैविक विविधता संरक्षणमा आदिवासी महिलाको नेतृत्व तथा अर्थपूर्ण सहभागिता र लैङ्गिक तथा यौनजन्य हिंसाविरुद्ध प्रभावकारी कानुनी तथा संरक्षणात्मक उपायमा जोड दिएको डा. गुरुङले बताइन्।

नेपालले सिड अनुमोदन गरिसकेको उल्लेख गर्दै उनले यसको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय कानुन र नीतिमा समावेश गर्न निडवानलगायत विभिन्न संस्थाले संघीय सांसद तथा सरोकारवालासँग निरन्तर अभिमुखीकरण, सहजीकरण र पैरवी गर्दै आएको जानकारी दिइन्। यस विषयमा वडा जनप्रतिनिधिहरूको पनि महत्वपूर्ण भूमिका र दायित्व रहेको उनको भनाइ थियो।

कार्यक्रमको सहजीकरण निडवानकी महासचिव श्रुति कुमालले गरेकी थिइन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल सरकार र ललितपुर महानगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा वडा जनप्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेट विनियोजन गर्ने, तथ्याङ्क संकलन गर्ने, समुदायलाई संगठित गर्दै अधिकारसम्बन्धी जनचेतना फैलाउनेलगायतका विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए। PC By Roman Budha Magar










