भूमिका
जब इस्लामिक पात्रो अनुसार वर्षको पहिलो महिना मुहर्रम आउंछ । तब हरेक सत्यवादी मानवता प्रेमी र न्यायप्रेमीले आफ्नो आस्था प्रकट गर्छन् । अनि करबलाका शहीदहरुप्रति श्रद्धा अर्पण गर्छन् । इमाम हुसैन अलैहिस्सलाम र उनका योगदानहरुलाई स्मरण गर्छन् । किनकि मानव इतिहासमा करबलाको घटना केवल एउटा युद्ध मात्र होइन, सत्य र असत्य, न्याय र अन्याय, मानवता र अत्याचार, त्याग र मोह, दमन र सुशासन बीचको संघर्ष र फरक बुझ्ने सुवर्ण अवसर हो ।
हिजरी ६१ सालको १० मुहर्रम (आशूरा) का दिन इराकको करबलाको मैदानमा हजरत इमाम हुसैन (अ.स.) र उहाँका वफादार साथीहरू तथा परिवारजनहरूले सत्य, न्याय र इस्लामी मूल्यहरूको रक्षाका लागि आफ्नो ज्यानको बलिदान दिएका थिए। यही महान् बलिदानका कारण करबलाको घटना आज पनि विश्वभरिका मानिसहरूका लागि साहस, धैर्य, त्याग र मानवताको प्रतीक बनेको छ।
करबलाको युद्धको पृष्ठभूमि
हजरत मुहम्मद मुस्तफा (सल्लल्लाहु अलैहि वसल्लम) को विसालपछि इस्लामी राज्य विस्तार हुँदै गयो । ६० हिजरीमा जब हजरत अमीर मुआबियाको देहान्त भयो । तब उनको उत्तराधिकारीको रुपमा शाम (हालको सिरिया) केन्द्र बनाएर यजीद बिन मुआविया सत्तामा पुग्यो । उसले आफ्नो अनैतिक कार्य अमानवीय व्यवहार, क्रूरता सहितको शासन प्रणालीलाई वैधानिकता दिनका लागि समाजका प्रभावशाली व्यक्तिहरूबाट बैअत (समर्थन) लिन खोज्यो ।
जसमध्ये विशेष गरी रसूलुल्लाह (स.अ.व.) का नवासा इमाम हुसैन (अ.स.) को समर्थन उसका लागि अत्यन्त आवश्यक थियो। तर इमाम हुसैन (अ.स.) लाई यजीदका मानवता विरोधी काम, शरीयत ए इस्लामको बर्खिलाप गर्ने उसका कार्य सबै थाहा थियो । तसर्थ अन्याय, अत्याचार, भ्रष्टाचार र इस्लामी मूल्यमान्यता विपरीत रहेका उसका सम्पूर्ण गतिविधिहरूको समर्थन गर्न अस्वीकार गर्नुभयो।
उहाँको दृष्टिमा सत्यको रक्षा गर्नु कुनै व्यक्तिगत वा राजनीतिक विषय थिएन, बरु पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको नाति हुनुका कारण सम्पूर्ण मानवताको हितका हेतु उहांको आफ्नो अहम् जिम्मेवारी थियो । इमाम हुसैन (अ.स.) ले आफ्नो प्रसिद्ध कथनमा भन्नुभयो: यजीद म तेरो समर्थन गरुं कसरी न तेरो हजुरबुवा मेरो हजुरबुवा जस्तो छ ।
न तेरो हजुरआमा मेरो हजुरआमा जस्तो छ । न तेरो बाजे मेरो बाजे जस्तो छ । न तेरो बज्यै मेरो बज्यै जस्तो छ । न तेरो बुवा मेरो बाबा जस्तो छ । न तेरो आमा मेरी आमा जस्ती छ । न त म जस्तो छस् न त म त् जस्तो छु । म जस्तोले तेरो समर्थन कसरी गर्न सक्छ ।” जब इमाम हुसैन अलैहिस्सलामले यजीदको समर्थन गर्न अस्वीकार गर्नुभयो तब यजीदले भन्यो कि समर्थन ल्याऊ कि हुसैन इब्ने अलीलाई मारिदेऊ ।
मदीनाबाट करबलासम्म
यजीदको दबाब बढेपछि इमाम हुसैन (अ.स.) मदीनाबाट मक्का जानुभयो। त्यही समयमा कूफाका हजारौं मानिसहरूले पत्र लेखेर उहाँलाई आफ्नो नेतृत्वका लागि आमन्त्रण गरे। कुफाको वास्तविक परिस्थितिको मूल्याङ्कन गर्नका लागि उहाँले आफ्नो प्रतिनिधिका रूपमा मुस्लिम बिन अकीललाई कूफा पठाउनुभयो।
सुरुमा कूफाका मानिसहरूले समर्थन जनाए पनि पछि यजीदका गभर्नर उबैदुल्लाह बिन जियादको दबाब र आतंकका कारण अधिकांशले साथ छोडे यजीदका सेनाले मुस्लिम बिन अकील शहीद गरिए । यसैबीच इमाम हुसैन (अ.स.) आफ्नो परिवार र साथीहरूसहित कूफातर्फ प्रस्थान गरिसक्नुभएको थियो। बाटोमा यजीदी सेनाले उहाँको काफिलालाई रोकेर करबलाको मैदानमा बस्न बाध्य बनायो।
फुरातको पानीमाथि प्रतिबन्ध
करबलामा पुगेपछि यजीदी सेनाले इमाम हुसैन अलैहिस्सलाममाथि दबाब सृजना गर्नका लागि फुरात नदीको पानीमाथि नियन्त्रण कायम गरी इमाम हुसैन (अ.स.) को परिवार र साथीहरूलाई एक थोपा पानीबाट वञ्चित गर्यो । महिला, बालबालिका, वृद्ध तथा छ महिनाका दुधमुखे बालक हजरत अली असगरसम्मले प्यासको पीडा सहनुपर्यो । यद्यपि ती कठोर परिस्थितिमा पनि इमाम हुसैन (अ.स.) ले यजीदको बैअत स्वीकार गर्नुभएन । तब यजीदी फौजले युद्धको अवस्था सृजना गरे ।
आशूराको दिन र महान् शहादत
१० मुहर्रम ६१ हिजरीका दिन करबलाको मैदानमा युद्ध प्रारम्भ भयो। इमाम हुसैन (अ.स.) का साथीहरू र परिवारका सदस्यहरू एकपछि अर्को गर्दै शहीद हुँदै गए । हजरत अब्बास, हजरत अली अकबर, जनाबे कासिम, हजरत अली असगर लगायत अहलेबैतका सदस्यहरूले अतुलनीय साहसको प्रदर्शन गरे ।
जब सबै साथीहरू शहीद भए, तब स्वयं इमाम हुसैन (अ.स.) रणभूमिमा उत्रनुभयो। तीन दिनको भोक, प्यास र आफन्तहरूको शहादतको पीडाका बाबजुद उहाँले अद्भुत वीरताका यजीदी सेनालाई पछार्दै अगाडि बढिरहनु भएको थियो । जब यजीदी फौजलाई लाग्यो यसरी त तिनलाई परास्त गर्न सकिदैन् । अनि उनीहरुले तीरको वर्षा गरे तरवार र नेजाले सामुदायिक रुपमा आक्रमण गर्न थाले । अन्ततः आशूराको दिन इमाम हुसैन (अ.स.) पनि शहीद हुनुभयो । उहाँको शहादतपछि अहलेबैतका महिलाहरू र बालबालिकाहरूलाई डोरी बाँधेर कैदी बनाएर कूफा हुँदै दमिश्क यजीदको दरबार सम्म लगियो।
करबलाका ७२ शहीदहरू
◼️करबलाका ती ७२ शहीदहरुको नाम र सानो परियच
◾️ करबलामा सब भन्दा बढी शहादत प्राप्त गर्नेहरुमा बनूहाशिम अर्थात अबू तालिबका सन्तान थिए । अबूतालिबका १८ सन्तान शहीद भए ।
१.शहीदेआजम हज़रत इमाम हुसैन अलैहिस्सलाम – हज़रत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ॰स॰) का नाति ।
२. हज़रत अली असग़र – हज़रत इमामे हुसैन अलैहिस्सलामका छोरा र हज़रत इमामे अली अलैहिस्सलामका नाति ।
३. हज़रत अब्दुल्लाह – हज़रत इमामे हुसैन अलैहिस्सलामका छोरा र हज़रत इमामे अली अलैहिस्सलाम का नाति ।
४. हज़रत अली अकबर – हज़रत इमामे हुसैन अलैहिस्सलामका छोरा र हज़रत इमामे अली अलैहिस्सलामका नाति ।
५. हज़रत अब्बास – हज़रत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ॰स॰) का नाति ।
६. हज़रत जाफ़र – हज़रत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ॰स॰) का नाति ।
७. हज़रत औन – अब्दुल्लाहका छोरा, जाफ़रका नाति र जनाबे अबू तालिब (अ॰स॰) का पनाति ।
८. हज़रत मोहम्मद – अब्दुल्लाहका छोरा, जाफ़रका नाति र जनाबे अबू तालिब (अ॰स॰) का पनाति ।
९ . जनाबे क़ासिम – हज़रत इमाम हसन अलैहिस्सलामका छोरा, हज़रत इमाम अली अलैहिस्सलामका नाति र जनाबे अबू तालिब (अ॰स॰) का पनाति ।
१०. हज़रत अबू बक्र – हज़रत इमामे हसन (अ॰स॰) का छोरा , हज़रत इमामे अली अलैहिस्सलामका नाति र जनाबे अबू तालिब (अ॰स॰) का पनाति ।
११. हज़रत अब्दुल्लाह – जनाबे मुस्लिमका छोरा र जनाबे अबू तालिब (अ॰स॰) का नाति
१२. हज़रत मोहम्मद – जनाबे मुस्लिमका छोरा र जनाबे अबू तालिब (अ॰स॰) का नाति ।
१३. हज़रत जाफ़र – हज़रत अक़ीलका छोरा र जनाबे अबू तालिब (अ॰स॰) का नाति ।
१४. हज़रत अब्दुर्रहमान – हज़रत अक़ीलका छोरा र जनाबे अबू तालिब (अ॰स॰) का नाति ।
१५. हज़रत मोहम्मद – हज़रत अक़ीलका नाति र जनाबे अबू तालिब (अ॰स॰) का पनाति ।
१६. हज़रत मोहम्मद – हज़रत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ॰स॰) का नाति ।
१७. हज़रत अब्दुल्लाह – हज़रत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ॰स॰) का नाति ।
१८. हज़रत उसमान – हज़रत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ॰स॰) का नाति ।
◾️ बनू_हाशिम बाहेक करबलाका ५४ जना शहीदहरु
१९.जनाबे मुस्लिम बिन औसजा – रसूले अकरम (सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी थिए ।
२०.जनाबे अब्दुल्लाह बिन ओमैर कल्बी– हज़रत अली अलैहिस्सलामका अनुयायी थिए ।
२१.जनाबे वहब कलबी (वहब बिन अब्दुल्लाह अल-कलबी) जो आस्थाले इसाई थिए पछि इस्लाम स्वीकार गरे । उनी आफ्नी आमा र नवविवाहिता पत्नीसँग यात्रा गरिरहेका थिए । यात्राको क्रममा उनीहरूको भेट इमाम हुसैन (अ.स.) को काफिलासँग भयो।
इमाम हुसैन (अ.स.) को व्यक्तित्व, उद्देश्य र सत्यको पक्षमा रहेको संघर्षबाट प्रभावित भई वहबले उहाँको साथ दिने निर्णय गरे। आशुराको दिन उनले वीरतापूर्वक युद्ध गरे अन्ततः उनले पनि शहादत प्राप्त गरे।
२२.जनाबे बोरैर इब्ने खोज़ैर हमदानी – हज़रत अली अलैहिस्सलामका अनुयायी थिए ।
२३. मन्जह इब्ने सहम – इमाम हुसैन अलैहिस्सलामकी कनीज़ हुसैनियाका छोरा थिए
२४.उमर बिन ख़ालिद – कूफ़ाबासी थिए र सच्चा मोहिब्बे अहलेबैत थिए ।
२५.यज़ीद बिन ज़ेयाद अबू शाताए किन्दी– कूफ़ाबासी वाले थिए करबलामा शहीद भए ।
२६.मजमा इब्ने अब्दुल्ला मज़जही – अली अलैहिस्सलामका अनुयायी थिए यह जंगे सिफ़्फीनमा पनि शरीक भएका थिए ।
२७.जनादा बिन हारिसे सलमानी – कूफ़ाबासी थिए र हज़रते मुस्लिमका साथ जेहादमा शरीक भएका थिए ।
२८.जन्दब बिन हजर किन्दी – कूफ़ाबासी र हज़रत अली अलैहिस्सलामका अनुयायी थिए।
२९.उमैय्या बिन साद ताई – हज़रत अली अलैहिस्सलामका अनुयायी थिए ।
३०.जब्ला बिन अली शैबानी – कूफ़ाबासी हज़रत अली अलैहिस्सलामका अनुयायी थिए र करबलामा हमल-ए-ऊलामा शहीद भए ।
३१.जनादा बिन क़ाब बिन हारिस अंसारी ख़ज़रजी – मक्काबाट अफ्नो परिवारका साथ करबला आएर हमल-ए-ऊलामा शहीद भए ।
३२.हारिस बिन इमरउल क़ैस किन्दी – करबलामा उमरे सादको फ़ौजका साथ आएका थिए तर पछि इमाम हुसैन अलैहिस्सलामको फौजमा शामिल भइ शहीद भए ।
३३.हारिस बिन नैहान – हज़रते हमज़ाका ग़ुलाम नैहानका छोरा र हज़रते अली अलैहिस्सलामका अनुयायी थिए ।
३४.हब्शा बिन क़ैस नहमी – आलिमे दीन थिए हमल-ए-ऊलामा शहीद भए ।
३५.हल्लास बिन अम्रे अज़्दी – हज़रत अली अलैहिस्सलामका अनुयायी थिए ।
३६.ज़ाहिर बिन अम्रे सल्मी किन्दी – रसूले अकरम सल्लल्लाहो अलैहे वसल्लमका सहाबी र हदीशका रावी थिए ।
३७.स्वार बिन अबी ओमेर नहमी – हदीशका रावी थिए र हमल-ए-ऊलामा शहीद भए ।
३८.शबीब बिन अब्दुल्लाह – हारिस बिन सोरैयका ग़ुलाम थिए उनी हज़रत अली अलैहिस्सलामका अनुयायी र रसूले अकरम (सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी थिए ।
३९.शबीब बिन अब्दुल्लाह नहशली – हज़रत अली अलैहिस्सलामका अनुयायी थिए ।
४०.अब्दुर्रहमान बिन अब्दे रब अन्सारी ख़ज़रजी – रसूले अकरम ( सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी थिए ।
४१.अब्दुर्रहमान बिन अब्दुल्लाह बिन कदन अरहबी – जनाबे मुस्लिमका साथ कूफ़ा र कुफाबाट करबला पुगेर हमल-ए-ऊलामा शहीद भए ।
४२.अम्मार बिन अबी सलामा दालानी – रसूल अकरम (सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी र हज़रत अली अलैहिस्सलामका अनुयायी थिए र करबलामा हमल-ए-ऊलामा शहीद भए ।
४३.क़ासित बिन ज़ोहैर तग़लबी – यिनी र यिनका दुई भाई हज़रत अली अलैहिस्सलामका अनुयायी थिए ।
४४.कुरदूस बिन ज़ोहैर बिन हारिस तग़लबी – क़ासित इब्ने ज़ोहैरका भाई र हज़रत अली अलैहिस्सलामका अनुयायी थिए ।
४५.मसऊद बिन हज्जाज तैमी – उमरे सादको फ़ौजमा शामिल भएर करबला पुगे तर इमाम हुसैन अलैहिस्सलामको तर्फबाट शहीद भए ।
४६.मुस्लिम बिन कसीर सदफ़ी अज़्दी – जंगे जमलमा हज़रत अली अलैहिस्सलामका साथी र अनुयायी थिए उनी करबलामा हमला-ए-ऊलामा शहीद भए ।
४७.मुस्कित बिन ज़ोहैर तग़लबी – करबलामा हमला-ए-ऊलामा शहीद भए ।
४८.कनाना बिन अतीक़ तग़लबी – करबलामा हमला-ए-ऊलामा शहीद भए ।
४९.नोमान बिन अम्रे अज़दी – हज़रत अली अलैहिस्सलामका अनुयायी थिए र हमला -ए- ऊलामा शहीद भए ।
५०.नईम बिन अजलान अन्सारी – हमला -ए- ऊलामा शहीद भए ।
५१.अम्र बिन जनादा बिन काब ख़ज़रजी– करबलामा बुलाको शहादत पश्चात आमाको आदेशले शहीद भए ।
५२.हबीब इब्ने मज़ाहिर असदी – हज़रत रसूल अकरम (सल्लल्लाहो अलैहेवसल्लम)का सहाबी, हज़रत अली अलैहिस्सलाम हज़रत इमामे हसन अलैहिस्सलामका अनुयायी थिए । इमामे हुसैन अलैहिस्सलाम बाल्यकालका साथी थिए उनको प्रेमको हद यो थियो कि इमाम हुसैन जब हिड्नु हुन्थ्यो उनी उहांको पैताला मुनिको धूलो उठाएर आफ्नो अनुहार र शिरमा लगाउन्थे उनी पनि करबलामा शहीद भए ।
५३.मोसय्यब बिन यज़ीद रेयाही – हज़रत हुर्रका भाई थिए ।
५४.हुज़्र बिन हुर्र यज़ीद रेयाही – जनाबे हुर्रका छोरा थिए ।
५५.जनाबे हुर्र बिन यज़ीद रेयाही – यज़ीदी फ़ौजका कमान्डर थिए । इमामे हुसैन अलैहिस्सलामको फौजमा शामिल भइ शहीद भए ।
५६.अबू समामा सायदी – आशूराका दिन नमाज़े जुहरको तयारीको बेला शत्रुहरुले वाण हानेर शहीद गरे ।
५७.सईद बिन अब्दुल्लाह हनफ़ी – यिनी पनि आशूराका दिन नमाज़े जुहरको तयारीको बेला शत्रुहरुले हानेको वाण लागेर शहीद भए ।
५८.ज़ोहैर बिन क़ैन बोजिल्ली – यिनी आशूराका दिन नमाज़े जुहरको बेला गरिएको आक्रमणमा घाइते भएर युद्ध गर्दा शहीद भए ।
५९.उमर बिन करज़ाह बिन काब अंसारी– यिनी पनि आशूराका दिन नमाज़े जुहरमा शहीद भए ।
६०.नाफ़े बिन हेलाल हम्बली – आशूराका दिन नमाज़े जुहरको सुरक्षा व्यवस्था सम्हाल्ने क्रममा युद्ध गर्दा शिम्रको हातबाट शहीद भए ।
६१.शौज़ब बिन अब्दुल्लाह – मुस्लिम इब्ने अक़ीलको पत्र लिएर करबला पुगेका थिए र यिनी पनि शहीद भए ।
६२.आबिस बिन अबी शबीब शकरी – हज़रत इमाम अली अलैहिस्सलामका अनुयायी थिए आशूराका दिन करबलामा शहीद भए ।
६३.हन्ज़ला बिन असअद शबामी – आशूराका दिन जुहरको नमाजपछि युद्ध गर्ने क्रममा शहीद भए ।
६४.जौन ग़ुलामे अबूज़र गेफ़ारी – हब्शी थिए हजरत अबूज़र गेफ़ारीका ग़ुलाम थिए ।
६५. ग़ुलामे तुर्की – हज़रत इमामे हुसैन अलैहिस्सलामका ग़ुलाम थिए ।
६६.अनस बिन हारिस असदी – धेरै बुढो भइसकेथिए यिनी पनि शहीद भए ।
६७. हज्जाज बिन मसरूक़ जाफ़ी – मक्काबाट साथमा आएका थिए र त्यहींबाट मोअज़्ज़िनको जिम्मेवारी निर्वाह गर्दै आएका थिए यिनी पनि शहीद भए ।
६८.ज़ेयाद बिन ओरैब हमदानी – यिनका बुवा हज़रत रसूल अकरम (सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी थिए ।
६९.अम्र बिन जन्दब हज़मी – हज़रत अली अलैहिस्सलामका अनुयायी थिए ।
७०.साद बिन हारिस – हज़रत अली अलैहिस्सलामका ग़ुलाम थिए ।
७१.यज़ीद बिन मग़फल – हज़रत अली अलैहिस्सलामका अनुयायी थिए ।
७२.सोवैद बिन अम्र ख़सअमी – निकै बुढो भइसके थिए करबलामा इमाम हुसैन अलैहिस्सलामका तमाम साथीहरु मध्ये सबभन्दा आख़िरमा युद्धमा घाइते भइ बेहोश भएका थिए होश आउंदा इमाम हुसैन अलैहिस्सलामको शहादतको ख़बर सुनेर फेरि युद्ध गर्दागर्दै शहीद भए ।
करबलाको सन्देश
करबलाको घटना कुनै विशेष समुदाय वा समूहको लागि मात्र उदाहरणीय होइन । जंग ए करबला अत्याचारविरुद्ध प्रतिरोध, न्यायको पक्षमा दृढता, सत्यका लागि बलिदान र मानव मर्यादाको रक्षा गर्ने प्रेरणाको उदाहरण हो। करबलाबाट इमाम हुसैन (अ.स.) ले संसारलाई सन्देश दिनुभयो कि “अन्यायका अगाडि मौन बस्नु पनि अन्यायलाई समर्थन गर्नु हो। उहाँको बलिदानले सत्यको मार्गमा अडिग रहन सिकाउँछ।” यसै भावनालाई प्रसिद्ध उर्दू शेरमा यसरी व्यक्त गरिएको छ—
“कत्ले हुसैन अस्ल में मर्गे यजीद है,
इस्लाम जिन्दा होता है हर करबला के बाद।”
मुहर्रम र करबलाको सम्झना
संसारभरि नै मुहर्रमको महिनामा करबलाका शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम, मजलिस, फातेहाखानी, रोजा तथा परोपकारी कार्यहरू गरिन्छन्। नेपालगञ्ज लगायत नेपालका विभिन्न स्थानहरूमा मुस्लिम समुदायले ताजियादारी, फातेहा, लंगर वितरण तथा करबलाका शहीदहरूको सम्झनामा धार्मिक कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ। जसमा विभिन्न धर्म र समुदायका मानिसहरू पनि सहभागी हुने गर्छन् । मुहर्रम र यादगार ए करबलाले सामाजिक सद्भाव र सहअस्तित्वलाई बलियो बनाएको छ।
निष्कर्ष
करबलाको इतिहास केवल अतीतको कथा होइन्, यो त हरेक युगका मानिसहरूका लागि मार्गदर्शन हो । इमाम हुसैन (अ.स.) को शहादतले सत्य, न्याय, मानवता र नैतिकताको रक्षा गर्न आवश्यक पर्दा बलिदान दिन पनि तयार रहनुपर्ने सन्देश दिन्छ। तसर्थ करबला मानव इतिहासको एउटा अमर अध्याय हो । किनकि करबला सत्ता-मोह वा प्रतिशोध होइन, यो त सत्य, न्याय र मानवताको रक्षार्थ कर्तव्य निर्वाहको ज्वलन्त उदाहरण” हो भनी कयामत सम्म आउनेहरुलाई प्रेरणा र सन्देश प्रदान गरिरहनेछ।
शाह अस्त हुसैन, बादशाह अस्त हुसैन
दीन अस्त हुसैन, दीन पनाह अस्त हुसैन
सर दाद न दाद दर दश्ते यजीद
हक्का कि बिनाए ला इलाहा अस्त हुसैन