• भाद्र ७ २०८३, आईतवार

रक्षात्मक रवि : दिए पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई निर्देशन

भाद्र ७ २०८३, आईतवार

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागी आगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिए । लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको समेत स्पष्ट पारे ।

उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

“हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए । कयौँ नेताहरू पनि थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ । आज कसलाई दोष देखाउने ? अब हामीले दोष देखाउने कुनै कुरा छैन । अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस्,” रविले भने ।

उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यवाद दिनुपर्ने बताए ।