• भाद्र ८ २०८३, सोमबार

आजको प्रतिनिधिसभा बैठकमा राहदानी र मानव बेचबिखनसहित चार संशोधन विधेयक पेस गरिँदै

भाद्र ८ २०८३, सोमबार

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ९पहिलो संशोधन० विधेयक, २०८३’ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।

यसैबीच, सोमबार नै विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।