नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद राईले बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्द गरेको विषयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जवाफ मागेकी हुन् । सांसद राईले काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरिएको पनि आरोप लगाइन् ।
सांसद राईले नगरपालिकाका मेयरको राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि डन्डा चलाउन पाइन्छ भन्ने प्रश्नसमेत गरिन् । सांसद राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्छ भन्दै उनले मन्त्री गुप्तासँग जवाफ मागिन् ।
समितिको बैठकमा संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ ।