• जेष्ठ १ २०८३, शुक्रबार

माओवादी कार्यकर्ताको घरमा बम विस्फोट,अढाई वर्षीया बालिकाको मृत्यु

भाद्र १४ २०८१, शुक्रबार

पाँचथर  । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँस्थित माओवादी कार्यकर्ताको घरमा बिहीबार बम विस्फोट भएको छ । विस्फोटमा परेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ भने अर्को एक बालकको अवस्था चिन्ताजनक छ ।

माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।

दिप्सन र प्रिन्साको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापाको बीएन्डसी मेडिकल कलेज ‘रेफर’ गरिएको थियो । थप उपचारका लागि लैजाँदै गर्दा इलाम पुगेपछि बालिका प्रिन्साको मृत्यु भएको थियो । दिप्सनलाई राति साढे १२ बजे बीएन्डसी अस्पताल पुर्‍याइएको छ ।

पाँचथर जिल्ला अस्पतालकी चिकित्सक डा. एलिसा खनालका अनुसार दिप्सनको शरीर ९० प्रतिशत जलेको छ । पवनको शरीरमा छर्राले लागेका १५ भन्दा धेरै चोट छन् । उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । विस्फोट अपराह्न ३ बजे भएको थियो । ‘बारीमा काम गरिरहेका थियौं, ठूलो आवाजसहित धूवाँको मुस्लो उडेको देखियो, दुगुर्दै आउँदा तीन जना नानीहरू तीनतिर ढलिरहेका थिए, छेउमा मेरो भाइ बेहोस अवस्थामा थियो,’ दिप्सन र प्रिन्साकी आमा पूजा केरुङले भनिन् ।

विस्फोटको आवाज सुनेपछि हेर्न गएका पूजाका भाइ (प्रिन्सा दिप्सनका मामा) सेसेहाङ केरुङ भान्जाभान्जीको अवस्था देखेर बेहोस भएका थिए । उनलाई पनि उपचार लागि पाँचथर अस्पतालमा ल्याइएको छ ।