काठमाडौं । अधिकारकर्मी रुवी खान र उनको समूह अहिले काठमाडौंमा न्यायको खोजीमा छ । निर्मला कुर्मीको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलन गरिरहेका छन् ।
उनीहरू कलंकीदेखि माइतीघरसम्म दिनहुँ ‘नेपालको संविधान’को पुस्तक बोकेर खाली खुट्टा आउँछन् । आजदेखि भने न्यायको प्रतीक मानिने तराजु पनि लिएर आएको रुवी बताउँछिन् ।
कुर्मीको अपहरणपछि हत्यामा कांग्रेस नेता बादशाह कुर्मीको संलग्नता रहेको उनीहरूको आरोप छ । गम्भीर आरोप लगाउँदा लगाउँदै नेपाली कांग्रेसबाट बादशाह कुर्मी सांसद बनेका थिए ।
अहिले उनलाई नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको मन्त्री बनाएको छ, जसका कारण निर्मला कुर्मीको न्यायका लागि आफूहरूले गरेको आन्दोलनलाई राज्यले अपमान गरेको उनीहरूको बुझाइ छ ।
निर्मला कुर्मीको न्यायका लागि रुवी खानको अगुवाइमा पटक–पटक आन्दोलन हुँदै आएको छ । यो समूहले नेपालगञ्जबाट पैदलयात्रा गरी काठमाडौं आएर सरकारलाई न्यायका लागि दबाब दिएको थियो ।