• जेष्ठ १ २०८३, शुक्रबार

लोपोन्मुख माछा कोशीमा भेटियो

भाद्र ४ २०८१, मंगलवार

बेलबारी (मोरङ), ४ भदौ । कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ ।

जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ । अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गर्नुभयो ।

पाँच जनानेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगष्टमा सोसम्बन्धी लेख प्रकाशित छ । अनुसन्धानकर्ता जसहाङ लिम्बू भन्नुभयो, “माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरेका थियौँ ।

सोही क्रममा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको थियो । यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको छ ।” उनले अध्ययनका लागि तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमूना सङ्कलन गरिएको जानकारी दिए ।

उक्त नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो । अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताए। नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम इरेथिस्टेस सिकुलाहो । यो पनि कोशी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो । यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उनले बताए ।