विराटनगर, ३१ साउन । विराटनगरमा हेर्न लायक के छ ? जोकोहीले यसको जवाफ पाउँदैनन् । किनभने सत्ता र शक्तिको केन्द्रमा रहे पनि विराटनगरले हेर्न लायक कुनै संरचना निर्माण एवं परिकल्पना गरी आममानिसलाई आकर्षण गर्न सकेको थिएन । विराटनगरस्थित सिङ्घिया परोपकारधाममा यही साउनको २५ गते शुक्रबारका दिनदेखि सुरु भएको साप्ताहिक आरती कार्यक्रमले धार्मिक आकर्षण बढाएको छ ।
बच्चादेखि वृद्धसम्म आरती कार्यक्रममा रमाइरहेका देखिन्छन् । आदिवासी, जनजाति समुदायका मानिसको पनि आरतीमा उल्लेख्य एवं उत्साहजनक सहभागिता देखिन्छ । यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक गतिविधिलाई चलायमान एवं प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका रहेको आरती कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“आरतीका लागि छिमेकी मित्रराष्ट्र भारतको बनारस, हरिद्वार जाने गरिन्थ्यो, अहिले आफ्नै घरआँगनमा आरती हुँदा यस क्षेत्रका मानिसमा हर्षोल्लाससहित उत्साह र उमङ्ग देखिएको छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो, “यसलाई निरन्तरता दिन सक्नुपर्छ, हाम्रा युवा वर्गलाई समेत आकर्षित गर्न सफल आरती कार्यक्रमलाई धार्मिक पर्यटनसँग जोड्न सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।”
यही साउन २५ गते शुक्रबार नागपञ्चमीको दिनदेखि परोपकारधाममा सुरु भएको आरती कार्यक्रममा पहिलोपटक १५ हजारभन्दा बढी धर्मावलम्बीको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।