• जेष्ठ २ २०८३, शनिबार

माछासँग भात खाएर सुतेका तीन जना बालबालिकाको मृत्यु

श्रावण २९ २०८१, मंगलवार

काठमाडौँ । बाराको सिम्रौनगढमा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका– ७ झवानी टोल निवासी नरेश रामका तीन जना छोराछोरी ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन रामको मृत्यु भएको हो ।

घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरू शनिबार राति सिकिस्त बिरामी भएका थिए ।

बिरामी भएपछि अस्पताल लगिएका उनीहरूको सोमबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पुर्‍याएका थिए ।

परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेका डीएसपी सापकोटाले बताए ।

मृतक तीनैजना बालबालिकाको शव पोष्टमार्टमपछि अभिभावकलाई जिम्मा लगाइएको छ ।

माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी सापकोटाले बताए ।