• जेष्ठ २ २०८३, शनिबार

‘पत्रकारिताले आशा जगाउने गरी रचनात्मक र सृजनात्मक भूमिका खेल्न सक्नुपर्छ’

श्रावण २८ २०८१, सोमबार

काठमाडौँ, २८ साउन । प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिता क्षेत्रको प्रवद्र्धन र प्रभावकारिता वृद्धिका लागि खेल्नुपर्ने भूमिकाबारे विज्ञ तथा लेखकहरूसँग सुझाव लिएको छ । आज यहाँ भएको अन्तरक्रियामा वक्ताहरूले रचनात्मक पत्रकारिताको विकास तथा विस्तारका लागि काउन्सिलले देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्नुहुँदै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले हरेक क्षेत्रमा नकारात्मक पक्ष हाबी भइरहेको र सामाजिक सञ्जालले त्यसमा मलजल गरिरहेको अवस्थामा पत्रकारिता क्षेत्रले त्यसलाई निरुत्साहित गर्ने गरी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । उहाँले सूचना प्रविधिको युगमा पत्रकारिताले अवसरको सदुपयोग र चुनौतीको सामना गर्ने गरी फरक धार र सोचसहित क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“हरेक क्षेत्र, व्यक्ति, संस्था असफल भएको भाष्य निर्माण गर्न जानी नजानी मिडियाको पनि भूमिका छ । यस कार्यमा सामाजिक सञ्जालको अझ बढी दुरुपयोग भइरहेको छ । यो बेला रचनात्मक र सृजनात्मक पत्रकारिता गरी गलत भाष्यलाई हटाउन जरूरी छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “अब यो भएन, त्यो भएन भनेर प्रश्न उठाउने काम सामाजिक सञ्जालबाट आममानिसले गर्न सक्छन् ।

पत्रकारिता त्योेभन्दा माथि उठेर समाजमा देखिएका बेथिति, विसङ्ति र समस्या हटाउन समाधानका विकल्पसहित प्रस्तुत हुनुपर्ने आवश्यकता छ । सबैतिर नकारात्मकता र नैराश्यता मात्रै छैन भनेर आशा जगाउने काम अबको पत्रकारिताले गर्न सक्नुपर्दछ ।” त्यस अवसरमा काउन्सिलको त्रैमासिक प्रकाशन ‘संहिता’ लाई सकारात्मक पत्रकारिताको उदाहरण प्रस्तुत गर्ने गरी थप प्रभावकारी बनाउन सुझाव दिइएको थियो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले संहितालाई थप परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संहिताका हरेक अङ्कलाई विशेषाङ्क बनाउने गरी विशिष्टकृत (प्राज्ञिक) लेखन र आमपत्रकारका अनुभव समेट्ने गरी अगाडि बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा गोरखापत्र संस्थानका पूर्वअध्यक्ष गोविन्द पोखरेल, प्रेस काउन्सिल नेपालका पूर्वसदस्य चेतनाथ धमला, प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थराज कोइराला, वरिष्ठ पत्रकार रघु मैनाली, त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापकद्वय घमराज लुइँटेल र शशीनाथ मरासिनी, पत्रकार डिल्ली आचार्य, लक्की चौधरी, रामकृष्ण भण्डारीलगायतले हालसम्म कायम संहिताको मौलिक पहिचानलाई जीवन्त राख्दै पत्रकारिता क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास तथा प्रवृत्र् िसमेट्ने गरी थप परिस्कृत गर्दै लैजानुपर्ने सुझाव दिनुभयो ।