• जेष्ठ ५ २०८१, शनिबार

‘तेरो’ वा ‘मेरो’ होइन, न्याय वा अन्याय !

बैशाख २१ २०८१, शुक्रबार

प्यालेस्टिनी विद्रोही समूह हमास नियन्त्रणका लागि इजरायलले लगातार आक्रमण गरिरहेको छ । यो जाति उन्मूलनतिर उन्मुख त होइन भन्ने प्रश्नले ठाउँ लिन थालेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रकेट हमलाको प्रतिशोधमा इजरायलले यी सबै काम अघि बढाइरहेको छ । परिणामतः प्यालेस्टाइनको गाजा क्षेत्रमा महिला–बालबालिकासहित हजारौं गैरसैनिक प्यालेस्टिनीको दैनिक हताहती भइरहेको छ ।

अति कसैलाई पनि मन पर्दैन । विश्वमा मानव जाति छ । अबका दिनमा यो मानव र अर्को गैरमानव भन्ने विभेद अन्त्य हुँदै गइरहेको छ । विश्व पहिलेको जस्तो छैन । परिवर्तित भइसकेको छ । हमास दमनका नाममा प्यालेस्टिनीमाथि भइरहेको क्रुर अत्याचारको विरोधको धुवाँ अब अमेरिका भित्रै सरिसकेको छ । अमेरिकाका मुख्य विश्वविद्यालयमा इजरायली क्रुर हर्कतविरूद्ध विद्यार्थी आन्दोलन एकपछि अर्को गरी बिस्तार भइरहेको छ ।

संयुक्त राज्य अमेरिकाको अमेरिकाको पूर्वी तटदेखि पश्चिमी तटसम्मका कैयौं विश्वविद्यालयमा विद्यार्थी विरोधमा उत्रिएपछि अमेरिकी सरकार असजिलोमा फसिसकेको छ । विद्यार्थीले प्यालेस्टिनीहरूको मानव अधिकारको कुरा जबर्जस्त उठाइरहेका छन् । उनीहरूले प्यालेस्टिनी भूमिमाथि इजरायलको अधिपत्य कायम रहँदासम्म यो अत्याचार कायम रहने भनिरहेका छन् ।

आन्दोलित सारा विद्यार्थीले प्यालेस्टिनी भूमिको मुक्ति र युद्धविराम तथा शान्ति स्थापनाका नारा अघि सारेका छन्

विद्यार्थीले इजरायली अत्याचार मात्र होइन, इजरायललाई यो अत्याचार गर्न उक्साउने र पलेस्टिनीमाथि माथि बम वर्षाका लागि घातक अस्त्र तथा बमगोला दिएर सहयोग गरिरहेको अमेरिकी सैन्य सहयोगको पनि विरोध गरिरहेका छन् । विरोधको यो भाषा र प्रक्रिया बढ्दै र फैलदै गइरहेको छ ।

विद्यार्थी आन्दोलनले उठाएको यो आवाज र आवाज उठाउने विद्यार्थीमाथि अमेरिकी सरकारको दमन र धरपकड जारी छ । न्यु योर्कको कोलम्बिया विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा प्रहरी पसेर विद्यार्थीलाई पक्राउ गरिरहेको छ । यसले सिंगो अमेरिकी विद्यार्थी जगतमा हलचल पैदा गरिदिएको छ । अमेरिकी विश्वविद्यालय अहिले तनावग्रस्त छन् । विश्वमा प्रजातन्त्रको अग्रणी मानिने अमेरिकामा अहिले आवाज उठाइरहेका विद्यार्थीमाथि भइरहेको दमनलाई लिएर अभिव्यक्ति र प्राज्ञिक स्वतन्त्रताको बहस चर्को रूपमा उठिरहेको छ ।

अमेरिकामा पुरातनपन्थी र प्रगतिशील तथा प्रजातान्त्रिक शक्तिका बीचमा यस्तो बहस चुलिन थालिसकेको छ । यो अमेरिकी राजनीति जस्तो दुई ध्रुवीय पनि देखा परेको छ । तर दल भन्दा पनि युवा विद्यार्थीमा यो चर्को रूपमा पसिसकेको छ । स्वभाविक रूपमा युवा विद्यार्थी प्रगतिशील र अग्रगामी हुन्छन् । ती अन्याय र अत्याचारको विपक्षमा पनि उभिन्छन् । अ‍ेरिकामा यस्तै भइरहेको छ ।

रङ्गभेदको विरोध अधिक मात्रामा हुने अमेरिकामा अहिले पनि रङ्गभेदको फ्लेभरले स्थान पाइरहेको छ 

विगतमा अफ्रिकी मूलका मानिसलाई दास बनाएर युगौंसम्म गरिएको अत्याचारको क्षतिपूर्तिको कुरा उठिरहेको छ । त्यहाँका प्रगतिशील तथा प्रजातान्त्रिक शक्ति तथा व्यक्तिहरूले विगतमा अश्वेतहरूलाई दास बनाएर उत्पीडन गरेको कुरा अक्ष्यम्म रहेको भनिरहेका छन् ।

उनीहरूका मत छ, अहिले पनि अमेरिकामा रंगभेद व्याप्त छ । अश्वेत र सीमान्तकृतलाई अमेरिकी सरकारले दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिरहेको छ । यसको एकमुष्ठ क्षतिपूर्तिस्वरूप सकारात्मक विभेदको सुविधाका रूपमा अमेरिकी सरकारले दिनुपर्छ भनिरहेका छन् ।

यही पृष्ठभूमिमा प्यालेस्टिनी माथिको दमन पनि जोडिएर आएको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्व अहिले अमेरिकाभित्र भित्रिएको छ । अहिले अमेरिकामा यहुदी–विरोधी नारा चर्को छ । यहुदी विरोधी रोष तिब्र हुँदै जाँदा हार्वर्ड, पेन्सिलभेनिया र एमआईटीजस्ता क्षेत्रमा कार्यरत प्रशासकलाई पनि बेलाबेलामा सचेत गराउने र स्पस्टीकरण लिने गरिइरहेको छ ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व अब अमेरिकाभित्र भूसको आगो झैं सल्कदै गइरहेको छ । स्थानीय प्रशासक विद्यार्थीमाथि दमनका लागि मन्जुर छैनन् 

उता प्यालेस्टिनी मारिइरहेको र इजरायललाई अमेरिकाले सहयोग गरिरहेको विषयलाई लिएर विद्यार्थीले अमेरिकी सरकारको विरोध गरिरहेका छन् । विश्व विद्यालयको परिसरमा पाल टाँगेर पढाइ नै प्रभावित हुने गरी प्रदर्शन गरिरहेका छन् ।

धेरै विश्व विद्यालयमा त कक्षा बन्द गरेर अनलाइन कक्षा सुरू भइरहेको छ । तथापि विद्यार्थी प्रदर्शनमा भने कमी आएको छैन । यो विराोध प्रदर्शनले सन् १९६० को दशकमा भियतनामसँगको अमेरिकी युद्धको विरोधमा भएका प्रदर्शनको झल्को दिएको छ ।

अमेरिकाको संविधानको पहिलो संशोधनले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको प्रत्याभूति दिए पनि स्थानीय प्रशासनमाथि केन्द्र वा संघीय सरकारको कडा दबाब छ । हेर्दा यसो देखिन्छ, अमेरिकाको सार्वजनिक स्थलमा अभिव्यक्ति स्वतन्त्रता छैन । तर विश्व ‘ग्लोबलाइज्ड’ भइसकेको छ । अबका दिनमा मेरो वा तेरो मानिस होइन, सही र गलत कुराको मात्र मूल्य रहने स्थिति पैदा हुन थालेको छ । यो राम्रो संकेत पनि हो ।