• जेष्ठ ५ २०८१, शनिबार

‘जुडाखेतको पहिलो रोपाइ, असुरो र छापो’

चैत्र २४ २०८०, शनिबार

भन्ने बेलामा चैते धानको रोपाई भने पनि चैतदेखि जेठसम्म रोपिने धानलाई जुडाधान भन्ने चलन छ । यसरी चैतदेखि जेठसम्म रोपाइ गरिने खेतलाई जुडाखेत भन्ने गरिन्छ ।

चैत्र बैसाखमा जहाँकहिँ खेती गर्नका लागि पर्याप्त पानी हुँदैन । ठूला खोला, सीम खेत र मूल भएका ठाउँमा मात्र जुडा धानको खेती गरिन्छ । अहिले रासायनिक मल राख्ने प्रचलन निकै बढेर गए पनि पहिले पहिले भने जुडा खेतमा छापो राख्ने चलन थियो ।

असुरा जातको ससाना विरूवाका पात र मुन्टा खेतको हिलोमा च्यापेर त्यसमाथि गोडिएको धानको बिउ छुपु रोप्ने गरिन्छ । असारे भाकामा गाइने गीतमा पनि भनिन्छ, ‘छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाइ कुलो लगाइ पानी आएर गोडौंला’ !

अहिले बढ्दै गरेको चैते गर्मीसँगै जुडा खेतको रोपाइ पनि सुरू भएको छ । नेपालका मध्यपहाडी भूभागका खेतमा अहिले रोपाइ मच्चिएको छ । रोपारहरूले समूह बनाएर गीत गाउँदै जुडा धानको रोपाइ गर्छन् ।

एउटा समूहले ‘जुडा खेतको पहिलो रोपाइ, असुरे र छापो’ भनी गीतको टुक्का सुरू गरेपछि अर्को समूहले ‘साइको जस्तो ललित पार्न मैले जान्ने भा’पो’ भनी त्यसमाथि अर्को प्रतिक्रियात्मक टुक्क थप्ने गर्दछन् ।

मध्य पश्चिममा यसलाई ठाडी भाकाका रूपमा गाइए पनि धान खेत रोपाइमा रोपाइ गीतका रूपमा यसलाई स्वीकार गरिएको छ । मध्य पहाडी भेगका किसानले जेठ अन्तिमसम्म रोपाइ गरिसक्ने भएकाले असार १५ मा दही चिउरा खाने प्रचलन अनौठो मान्दछन् ।

काठमाडौं उपत्यका लगायत सिंगो तराइको भूभागमा भने मनसुन आएर झरी सुरू हुन थालेपछि मात्र रोपाई गर्ने भएकाले असार १५ मा दही चिउरा खाने चलन स्वाभाविक मानिन्छ ।