• जेष्ठ ५ २०८१, शनिबार

सरकारले उठाउन सकेन क्यासिनोको रोयल्टी, क्यासिनोको रोयल्टी बक्यौता २ अर्ब बढी पुग्यो

चैत्र १३ २०८०, मंगलवार

काठमाडौं । क्यासिनो सञ्चालकहरुले राज्यलाई ११ वर्षदेखि बुझाउनुपर्ने रोयल्टी नतिरेको पाइएको छ । क्यासिनोले सरकारलाई बुझाउनुपर्ने रोयल्टी बक्यौता २ अर्ब १६ करोड ६६ लाख ७५ हजार ६५१ रुपैयाँ पुगेको छ ।

सरकारले नयाँ क्यासिनो नियमावली २०७० सालबाट कार्यान्वयनमा ल्याएसँगै रोयल्टी नतिर्ने क्यासिनो बन्द गर्ने निर्णय गरेको थियो ।  २०७१ वैशाखमा रोयल्टी नबुझाउने ८ वटा क्यासिनोलाई सरकारले बन्द गरेको थियो । तर, सरकारको निर्णयलाई चुनौती दिदै क्यासिनो सञ्चालकहरु सर्वोच्च अदालत पुगे । अदालतको बलमा क्यासिनो सञ्चालकहरुले अन्तरिम आदेकै आधारमा सञ्चालित छन् ।

सर्वोच्च अदालतले क्यासिनो बन्द गराउन गरेको निर्णय कार्यान्वयन नगर्न/नगराउन भन्दै अन्तरिम आदेश दिएपछि यसैलाई आधार मानेर क्यासिनेहरु सञ्चालन हुँदै आएका छन् । तर, क्यासिनोले सरकारलाई तिर्न पर्ने रोयल्टी भने एक रुपैयाँ पनि तिरेका छैनन् । सरकारकै निर्णयमाथि नै क्यासिनो सञ्चालक हाबी भइरहेका छन् । सर्वोच्चले क्यासिनो सञ्चालन नरोक्न अन्तरिम आदेश मात्रै दिएको हो । तर, सोही आदेशको बलमा क्यासिनो सञ्चालकहरुले बल मिच्याइ गरिरहेका छन् ।

सरकारलाई लामो समयदेखि रोयल्टी नबुझाउनेमा सातवटा क्यासिनो छन् । दि फुलबारी प्रा.लि., ह्यापी आवर प्रा.लि., नेपाल रिक्रिएसन सेन्टर प्रा.लि., होटल याक एण्ड यती प्रा.लि., होटल सोल्टी, होटल एभरेष्ट इन्टरनेसनल प्रा.लि. र अन्नपूर्ण इन्टरनेसनल प्रा.लि. छन् ।

महालेखा नियन्त्रक कार्यालयअन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका अनुसार, क्यासिनोहरुमध्ये सबैभन्दा बढी रोयल्टी नेपाल रिक्रिएसन सेन्टर प्रा.लि.ले सरकारलाई तिर्न बाँकी छ ।

नेपाल रिक्रिएसन सेन्टर प्रा.लि.ले साँवा ५३ करोड ५० लाख ३३ हजार ९२७ रुपैयाँ ६३ पैसा र ब्याज ३९ करोड ९७ लाख ३६ हजार ३०७ रुपैयाँ ३ पैसा गरी कुल ९३ करोड ४७ लाख ७० हजार २३४ रुपैयाँ ६६ पैयाँ रोयल्टी सरकारलाई बुझाउन बाँकी रहेको छ ।

नेपाल रिक्रिएसन सेन्टर प्रा.लि.को तर्फबाट सरकारलाई रोयल्टी बुझाउनुपर्ने जिम्मेवार व्यक्तिमा तीन नेपाली, दुई भारतीय र एक अमेरिकी नागरिक छन् ।

कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका अनुसार, राकेश बाधवा (भारत), शालिनी बाधवा (भारत), रिचर्ड डोयल टटल (अमेरिका), सुबर्ण क्षेत्री, तुलाराम भट्ट र शान्ति चड्डा नेपाल रिक्रिएसन सेन्टर प्रा.लि.का जिम्मेवार व्यक्तिहरु हुन् ।

दि फुलबारी प्रा.लि.ले २४ करोड ६६ लाख ६४ हजार ४८२ रुपैयाँ साँवा र १८ करोड ४२ लाख ८८ हजार ७७८ रुपैयाँ ब्याज गरी कुल ४३ करोड ९ लाख ५३ हजार २६० रुपैयाँ ७४ पैसा सरकारलाई रोयल्टी बुझाउन बाँकी रहेको छ ।

दि फुलबारी प्रा.लिको जिम्मेवार व्यक्तिमा पियुषबहादुर अमात्य, नुरा श्रेष्ठ, सुमी अमात्य, आयुष अमात्य, आन्टु श्रेष्ठ, गंगा अमात्य र सन्जु अमात्य राजभण्डारी छन् ।

ह्यापी आवर प्रा.लि.ले ६ करोड ९३ लाख २७ हजार ५०० रुपैयाँ साँवा र ३ करोड १७ लाख ९६ हजार १८९ रुपैयाँ ७३ पैसा ब्याज गरी कुल १० करोड ११ लाख २३ हजार ६८९ रुपैयाँ ७३ पैसा रोयल्टी सरकारलाई बुझाउन बाँकी छ । ह्यापी आवर प्रा.लि.का जिम्मेवारीमा सुरेन्द्रबहादुर सिंह, भोजबहादुर बम र गोकर्ण लामिछाने हुन् ।

होटल याक एण्ड यती प्रा.लि.ले सरकारलाई बुझाउनु पर्ने रोयल्टी ११ करोड ८७ लाख ५० हजार रुपैयाँ साँवा र ८ करोड ८७ लाख २० हजार ८९० रुपैयाँ ४१ पैसाँ ब्याज गरी कुल २० करोड ७४ लाख ७० लाख ८९० रुपैयाँ ४१ पैसा पुगेको छ । होटल याक एण्ड यती प्रा.लि.का जिम्मेवारीमा राधेश्याम सराफ, रत्नादेवी सराफ, अरुणकुमार सराफ र उमेश सराफ छन् ।

होटल सोल्टीले ६ करोड १३ लाख ३३ हजार ३३२ रुपैयाँ ७८ पैसा साँवा र ४ करोड ५८ लाख २३ हजार ५६१ रुपैयाँ २३ पैसा ब्याज गरी कुल १० करोड ७१ लाख ५६ हजार ८९४ रुपैयाँ १ पैसा रोयल्टी सरकारलाई बुझाउन बाँकी छ । होटल सोल्टीको जिम्मेवारीमा दिनेशबहादुर विष्ट छन् ।

होटल एभरेष्ट इन्टरनेसनल प्रा.लि.ले सरकारलाई १० करोड ३५ लाख ६२ हजार ५०० रुपैयाँ साँवा र ७ करोड ७३ लाख ७३ हजार ९५५ रुपैयाँ ४८ पैसा ब्याज गरी कुल १८ करोड ९ लाख ३६ हजार ४५५ रुपैयाँ ४८ पैसा रोयल्टी बुझाउन बाँकी छ । मशकुर अहमद लारी होटल एभरेष्टका जिम्मेवार व्यक्ति हुन् ।

यस्तै, अन्नपूर्ण इन्टरनेसनल प्रा.लि.ले ११ करोड ६९ लाख १५ हजार १७५ रुपैयाँ ६४ पैसा साँवा र ८ करोड ७३ लाख ५० हजार ५० रुपैयाँ ४० पैसा ब्याज गरी कुल २० करोड ४२ लाख ६५ हजार २२६ रुपैयाँ ४ पैसा रोयल्टी सरकारलाई तिर्न बाँकी छ ।

अन्नपूर्ण इन्टरनेसनल प्रा.लि.मा तप्तबहादुर बिष्ट, नरेन्द्रलाल प्रधान, ईश्वरीप्रसाद श्रेष्ठ, कल्पदिप राई र जोत्सना बस्नेत छन् ।