• जेष्ठ ५ २०८१, शनिबार

दैनिक दुई हजार युवा जनशक्ति विदेश धकेल्न सरकारकै सहजीकरण

फाल्गुन २० २०८०, आईतवार

काठमाडौं । पछिल्लो समय रोजगारीको शिलशिलामा होस् या पढाईका लागि दैनिक हजारौको संख्यामा नेपाली युवा विदेशीएका छन् । सरकारले विदेश जानका लागि सहजता समेत बनाइरहेको छ । पासपोर्ट (राहदानी) बनाउनका लागि कम्तिमा एक हप्ता पर्खनु पर्ने थियो अब भने सरकारले नै द्रुत सेवाभन्दै २४ घण्टाभित्रै राहदानी बनाइदिन्छ । साथै राष्ट्रिय परिचयपत्र तत्कालै उपलब्ध समेत गराउँदै आइरहेको छ ।

नेपालमा सवारी लाइसेन्स लिनका लागि दुई वर्ष कुराइरहेको सरकारले विदेश जानका लागि सवारी साधनको लाइसेन्स चाहिने भएमा त्यो पनि २४ घण्टाभित्र उपलब्ध गराउने गरेको छ त्यस्तै राहदानी भने २४ घण्टाभित्रै उपलब्ध गराउने गरेको छ । नेपालले पछिल्लो समय दुई देशबीचको सरकारबीचको सम्झौता(जीटुजी) गरेर नेपाल पठाउँदै आएको छ । यो भनेको यहाँको श्रम जनशक्ति विदेश पठाउन सजिलो बनाएको हो । त्यसका लागि के-के शर्त मान्नुपर्ने हो सबैमा सरकार सहमत छ । त्यसैले पछिल्लो समय विदेश जाने युवा शक्तिका लागि सरकारले सहजता बनाइरहेको छ ।

डेढ दशकदेखि सरकारले कोरियामा कामदार पठाउँछ भने इजरायल, जापान, बेलायत, रोमानिया, पोर्चुगल सहितका मुलुकसँग सम्झौता गरेर कामदार पठाउनमै सरकारले जोडबल गरिरहेको छ । नेपालबाट डाक्टर, इन्जिनियर, पाइलट, नर्ससहितका उच्च क्षमताका जनशक्ति मात्रै दिनको दुई जनाका दरले विदेशिइरहेका छन् ।
वैदेशिक रोजगार विभागको माघ महिनाको तथ्यांक हेर्दा नेपालबाट ६२ हजार १सय ४७ जना रोजगारीको शिलशिलामा ९९ वटा देश पुगेका छन् । यसरी हेर्दा दैनिक सरदर दुई हजार भन्दा बढी काम या अध्ययनका लागि भन्दै विदेश गइरहेका छन् । सरकारले दक्ष जनशक्तिलाई नेपालमा रोजगार दिन सक्ने अबस्थामा छैनन् जसका कारण युवाहरु बाध्ये भए खाडी लगायत विश्वका ९९ वटा मुलुकमा पुगिरहेका छन् ।

गएको वर्ष मात्रै काम र अध्ययनका लागि करीब नौ लाख युवाले देश छोडे । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा कामका लागि सात लाख ७५ हजार युवा विदेश पुगेका छन् । त्यस्तै, गत वर्ष एक लाख १० हजार नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क छ । यो चानचुने संख्या होइन, देशको युवा उमेरसमूह १६-४० को करीब सात प्रतिशत हो ।

युवालाई देश छोड्न किन भयो हतारो ?
अर्घाखाँचीका विपिन थापा पोर्चुगल जानका लागि केही दिन अघि मात्रै काठमाडौं आईपुगे । विदेश जाने हुटहुटीले उनी राजधानी आईपुगेका हुन् । उनले म्यानपावरमा आफ्नो राहदानी बझाएर बसेका छन् । ‘यहाँ अबसर केही देखिएन, भएका साथीहरु सबै उतै छन्, थापाले भने, अवसर पाए पनि नेताका आसेपासेले मात्रै पाउँछन् किन बस्नु ? उनको प्रश्न छ ।

सिन्धुपाल्चोक चौताराका एक युवा भर्खरै १२ कक्षा पास गरेर विदेश जाने तयारीमा छन् । काठमाडौं तिनकुनेको एक प्राईभेट कलेजबाट अध्ययन पुरा गरेका कमल थापा अबको यात्रा बैदेशिक अध्ययनका लागि तयारी गरिरहेको बताउँछन् । अष्ट्रेलिया जाने सोचका साथ तयारी गरिरहेको छु, भाग्यले साथ दिएमा छिट्टै जान्छु । विदेश जान किन हतार गरेको भन्ने प्रश्नमा ति युवा भन्छन्, यो देशमा बसेर अब गर्नु नै के छ र खै हाम्रो भविष्य ?’ यहाँ के गरेर बस्ने ? यस्तै प्रश्न तेस्याउँदै उनले यो देशको थिती र प्रणालीको विषयमा प्रश्न गरे ।

कक्षा १२ पास गर्ने वित्तिकै युवाको ध्यान विदेश तिर गइरहेको छ । स्टडीपोर्टलको एक अध्ययनमा सन् २०२२ मा संसारभरिको वैदेशिक अध्ययनमा जानेमध्ये आधा विद्यार्थी नेपाल सहितका १४ देशबाट रहेको उल्लेख छ । नेपालले कुल अन्तर्राष्ट्रिय विद्यार्थीको १.७ प्रतिशत हिस्सा ओगटेको छ ।

सरकारको पछिल्लो नीति नै नेपालीलाई विदेश धकेल्ने हुन थालको छ । वैदेशिक अध्ययनका लागि गत आर्थिक वर्ष २०७९/८० मा मात्रै १ लाख १० हजार युवापुस्ता नेपालबाट बाहिरिएका छन् । गत वर्ष नेपालबाट बाहिरिएका विद्यार्थीले मात्रै १ खर्ब १४ अर्ब ८२ करोड रुपैयाँ अध्ययनका लागि लगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

देश छोड्नेमा चिकित्सक, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट (सीए), नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिको लाइन नै लाग्ने गरेको छ । नेपालबाट बर्सेनि कति संख्यामा पेशागत दक्ष र बौद्धिक समुदाय पलायन हुन्छ भन्ने तथ्याङ्क सरकारसँग छैन ।
समाजशास्त्री उषा राना मगर युवा जनशक्तिको विदेश मोह हुनुको पछाडि यहाँको राजनीतिक अस्थिरता र देशमा रोजगारीको अवसर सिर्जना हुन नसक्नु भएको बताउँछन् ।

देशमा भविष्य छैन भन्ने सामाजिक र मनोबैज्ञानिक रुपमा युवाहरुको मनमा घर गरेपछि विकल्पको खोजी विदेश गइरहेको बुझ्न सकिने मगर बताउँछिन् । सीप र दक्षता भएका जनशक्ति पनि यहाँ किन बस्न रुची गरिरहेका छैनन् त भन्ने विषयमा कसैले चासो दिइरहेका छैनन् । त देशमा पर्याप्त रोजगारीको अवसर छैन, काम मिलिहाले पनि तलब-ज्याला विदेशका तुलनामा थोरै छ । यही आम्दानीको असमानताका कारण मजदूरी गर्ने मात्र होइन, सीप र व्यावसायिक दक्षता भएका युवा पनि मुलुक छोड्न खोजिरहेका छन् ।

कोभिड-१९ महामारीपछि विदेश जाने युवाहरुको संख्या झनै बढिरहेको तथ्यांकले देखाइरहेको छ । कोभिड १९पछि देशमा आर्थिक गतिविधिको सुस्तताका कारण व्यवसाय र रोजगारीको अवसर खुम्चिएकाले युवाको पलायन दर बढ्दो क्रममा छ । जसलाई रोक्न सरकार तयार छैन बोरु सहुलियतपूणर् रुपमा ऋण दिने भन्दै आश्वासन सरकारले दिइरहेको छ । देशको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई विदेश जान सरकारले सहुलियत ऋण दिने भन्नुले पनि सरकारको भूमिकामाथि नागरिक समाजका अगुवाहरु प्रश्न गरिरहेका छन् । त्यसैमाथि सरकारको कमजोर कार्यसम्पादन, राजनीतिक अस्थिरता, लथालिङ्ग प्रशासन, यत्रतत्र भ्रष्टाचारले युवालाई देश छोड्न बाध्य छन् ।

नेपालबाट बाहिरिएका विद्यार्थीको संख्या आर्थिक वर्ष २०७८/८९ मा १ लाख २ हजार थियो भने ती विद्यार्थीले गरेको खर्च ८९ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकको तथ्यांक छ । पाँच वर्ष अगाडि नेपालबाट ६३ हजार विद्यार्थी वार्षिक रुपमा नेपालबाट बाहिरिने गरेका थिए । त्यतिबेला ५३ अर्ब रुपैयाँमात्रै बाहिरिएको थियो । त्यसपछिको ५ वर्षमा विद्यार्थी बाहिरिने र नेपालको पुँजी पलायन (क्यापिटल फ्लाइट) समेत बढिरहेको छ ।

पारिवारिक दुरी बढ्दो
प्रत्येक वर्ष हजारौँ युवा बिदेसिँदा डरलाग्दो अबस्था दीर्घकालीन रुपमा बढिरहेको समाजशास्त्री बताउँछन् । खाडी गएका युवाहरु आफ्नो कामको अबधी समाप्त भएर स्वदेश फर्किएपनि तेस्रो मुलुक,युरोप, अमेरिका जाने युवा जनशक्ति भने उतै पलायन हुने क्रम बढिरहेको छ । यो अबस्थाले गर्दा ति युवा परिवारसँग दुरी बढाइरहेका छन् ।

युवाहरु बिदेशी रहदाँ यहाँ नेपालमा बस्ने आमा-बाबु एक्ला हुने र सहयोग चाहिएका बेलामा वरपर कोही पनि नहुने डरलाग्दो अबस्था देखापरिरहेको समाजशास्त्री बताउँछन् । यो समस्या आजका दिनमा थोरै संख्यामा देखिएपनि भावी दिनमा अझै डरलाग्दो अबस्थामा देखिन सक्ने समाजशास्त्रीहरुको भनाई छ । युवा जनशक्ति बाहिरिदाँ दुई फरक पुस्ताको दुरी त बढाएको छ नै पारिवारसँगको सम्बन्ध पनि टाढिदै गइरहेको छ । घरमा विरामी पर्दा उपचार गर्न जाने नजिकका आफन्त पनि नरहने अबस्था बन्दै गइरहेको छ । आमाबुबाले छोराछोरी हुर्काउने र छोराछोरी हुर्किएपछि आमाबुबालाई हेर्ने नेपाली परम्परा भत्किँदै र टुट्दै गइरहेको छ । नेपालमा रहेका बाबुआमामा एक्लोपन बढ्ने मात्रै नभई पारिवारिक समस्या पनि अर्को डरलाग्दो अबस्थामा रहेको समाजशास्त्री बताउँछन् ।

विदेशीनेको पासपोर्ट बेचेरै सरकारले कमायो वार्षिक १० अर्ब
सरकारले वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी रकम पासपोर्ट बेचेरै कमाउन थालेको छ । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा १४ लाख ६३ हजार ४४४ वटा पासपोर्ट जारी भएको छ । यसबाट सरकारले १० अर्ब ३४ करोड २४ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तो राजस्व गत आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब १२ करोड ७१ लाख रुपैयाँ थियो । यसका लागि उक्त वर्ष ८ लाख ३३ हजार मात्रै पासपोर्ट जारी भएको थियो ।