• जेष्ठ ५ २०८१, शनिबार

विद्याकी देवी सरस्वतीको महिमा

फाल्गुन २ २०८०, बुधबार

हिन्दु धर्म र संस्कृतिअनुसार हामी वर्षेनी अनेकौं देवीदेवताको पुजाआजा बन्दना गर्दै उत्सव पर्व मनाउने गर्छौं । ती अनेकौं पर्व उत्सवमध्ये माघ शुक्ल पञ्चमीको दिनलाई श्रीपञ्चमी पर्वको रूपमा मनाउंदै हामी वाणीको देवी सरस्वतीलाई विशेष रूपले पूजा–अर्चना गर्दछौं ।

परम्परागत रूपमा हामीले मनाउँदै आएको यो पर्व हामी हाम्रो देश रहिआएकाले नेपाल अधिराज्यभरि विभिन्न धार्मिक एवम् सांस्कृतिक कार्यक्रमसहित यो पर्व ज्यादै उल्लासमय वातावरणमा मनाइने परम्परा रहिआएको छ ।

यसर्थ सरस्वतीको आराधना विद्या आर्जनको निमित्त गरिन्छ । विद्या आर्जनबाट नै विनय, पात्रता, योग्यता, धन, धर्म, सुख र आनन्द पाइने आध्यात्मिक नीतिमा बताइएको छ । विद्याकी देवी सरस्वतीलाई जनबोलीमा विद्या शब्दको पर्यायवाची मानिन्छ ।

आजसम्म मानव जातिले हासिल गरेका सकारात्मक उपलब्धिहरू सरस्वतीको आराधनाबाट प्राप्त विद्याको सही सदुपयोग र अध्ययनका परिणाम हुन् । वेद उपनिषद्, इतिहास भूगोल, खगोल आदिका ज्ञाता, जसलाई हामी विभित्र उपाधि जस्तै गुरु, जगत गुरु, स्वामी, शंकराचार्य, ऋषि, महर्षि आदिको नामले पुकार्दछौं, ती सबै विद्याकी खानी सरस्वतीको उपासक भएर नै समाजमा प्रतिष्ठित र आदरणीय भएका हुन् ।

यसै भएर नै विद्याको महत्व र महिमालाई ‘विद्याधनम् सर्व धनं प्रधानम्’ भनेर भनिएको हो । यसै दिनदेखि बसन्त ऋतुको आगमन पनि हुने भएकाले माघ शुक्लपञ्चमीलाई मुख्य रूपले दुई अलग–अलग उत्सवको रूपमा मनाइने गरिन्छ : वसन्त ऋतुको आगमन र विद्याकी देवी सरस्वतीको आराधना तथा सरस्वती जयन्ती !

वसन्त पञ्चमीदेखि जाडो क्रमशः कम हुँदै जाने र बोटविरुवामा नयाँ पालुवा पलाउने साथै दिन लामो र रात छोटो हुँदै जाने विश्वास जनमानसमा छ । वसन्तपञ्चमीकै दिन विद्याकी देवी सरस्वतीको पूजा आराधाना गर्ने परम्परा रहेको छ । प्राचीन ग्रन्थहरु महाभारत आदिले पनि सरस्वतीको पुजा गर्ने कुराको उल्लेख गरेका छन् ।

सरस्वती ब्रम्हाकी छोरी हुन् तर स्वयम् ब्रम्हाले पनि सरस्वतीको स्मृति गरेको कुरा पनि धर्मग्रन्थमा उल्लेख छ । सरस्वतीको रूप र प्रकृतिको बारेमा ग्रन्थमा वर्णन गरिए अनुसार, सेतो कमलासनमा बिराजमान भएकी, सेता बस्त्र धारण गरेकी, चार हात भएकी, दाहिने हातमा अक्षमाला र बायाँ हातमा बीणा धारण गरेकी र हाँसमा चढेकी छिन् ।

सरस्वतीको प्रतीकस्वरूप पुस्तक, कमल, वीणा, आदिको पूजा गर्नाले ज्ञान र कलामा पारङ्गत हुन सकिन्छ भन्ने जनविश्वास छ । हाम्रो नेपाली परम्परामा बालबालिकालाई अक्षरारम्भ गर्दा यसै दिनदेखि सुरुआत गरिन्छ । अक्षरारम्भ गर्दा पहिले सिद्धिवुद्धिदाता गणेशजीको पुजा गराइन्छ ।

त्यसपति श्रीसरस्वती देवी र बेदव्यास, जसलाई हिन्दु वाङ्मय जगत्को गुरुको रूपमा लिइन्छ, यी सबैलाई यथोचित पुजा गरेर पढाउन सुरु गरिन्छ । अतः वसन्त पञ्चमीको दिनमा नेपालको ठाउँठाउँमा भएका सरस्वती मन्दिर, प्राथमिक विद्यालय, महाविद्यालय, विश्वविद्यालय र पाठशालामा सरस्वती पुजाको समारोह नै गरिन्छ ।

खास गरेर विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरस्वतीका साधक तथा श्रद्धालुहरू आआफ्ना पायक पर्ने सरस्वती मन्दिरहरूमा भेला भई सरस्वती देवीको विशेष पुजाआजा गर्न रमाउँछन् । यसै दिन ससाना बालबालिकाका अभिभावकहरू उनीहरूको हात समातेर मन्दिरका भित्तामा ‘ॐ नमो वागिश्वराय’ लेखेर अक्षराम्भ गराउँदछन् ।

श्रीपञ्चमीको बारेमा एउटा कथन पनि छ, जसमा लक्ष्मीले नारदलाई भनेकी थिइन्, “जुन सौभाग्यवती स्त्रीले यस माघ शुक्ल पञ्चमीको दिनदेखि छ वर्षसम्म प्रत्येक महिनाको पञ्चमीको दिन व्रत बस्दछे, त्यो स्त्री उहाँझैं सुखी र सौभाग्यवती हुन्छे” भन्ने पौराणिक कथन छ ।

यस दिन बिहानदेखि तीर्थ, व्रत, यज्ञ अनुष्ठानको लागि श्रद्धालु नरनारी विभिन्न नदी एवम् तीर्थस्थलमा ठूलो भीड लाग्ने गर्दछ । यसबाहेक काठमाडौं हनुमानढोका स्थित गद्दी बैठकमा वसन्त श्रवण गर्ने परम्परासमेत रहिआएको छ । यस दिनमा कैयौं विद्यार्थी मन्दिर परिसरमा गएर अक्षर कोर्ने र साथै टुटफुट नभएका ३, ५ वा ७ गेडा चामल खाने गर्दछन् ।

यस अथाह विश्वमा ज्ञानको अभावमा मुक्ति असंभव भएको पाइन्छ । गीतामा भगवान् श्रीकृष्णले “नहि ज्ञानेत सदृश पवित्रमिह विद्यते” भनी ज्ञानको पवित्रतालाई प्रमाणित गरिदिनु भएको छ । यसैले ज्ञान र विद्याकी देवीको आराधना ज्ञानका उपासक विद्यार्थीले सरस्वती पूजाको अवसरमा पुस्तकको पुजासमेत गर्दछन् ।

समग्रमा भन्नुपर्दा वसन्त ऋतुको आगमनसँगै वौद्धिक शिक्षित वर्गहरूले विद्याकी आराध्यदेवी सरस्वतीको अनुष्ठान गर्ने गर्दछन् । विद्याको महत्व र महिमाको बारेमा जति वर्णन गरे पनि अपूर्ण नै हुन्छ । मूलतः विद्या अविनाशी धन हो, चेतनाको प्रकाश हो, ज्ञानको ज्योति हो ।
विद्याविनाको संसार अन्धकारमय हुन्छ र व्यक्ति धर्म विमुख र सुगन्धविहीन हुन्छ । त्यसैले त भनिएको छ, ‘रूप यौवन सम्पत्रा विशाल कुल सम्भवा विद्याहिन न शोभन्ते निर्गन्धा इव किंशुका ।’

अर्थात्, रूप र यौवनले सम्पत्र भए पनि, ठूलो कुलमा जन्मिए पनि विद्याहीन मानिस त सुगन्धरहित वासना नभएका पलाँस र चाँपका फूल जस्तै शोभाहीन हुन्छन् । त्यसैले श्रीपञ्चमी तथा सरस्वती पुजाको नैतिकता लगनशीलता र विद्याको महत्वलाई अक्षरशः व्यवहारमा उतार्दै राष्ट्रको शान्ति, समुत्रति र सुखद भविष्य निर्माणको लागि अझ बढी सव्रिmय भूमिका निर्वाह गर्न हामी सबै एकजुट हुनपर्ने बेला आएको छ ।

यी सम्पूर्ण कुराका आधारमा प्रज्ञा, मेधा, ध्यान, धारण, ज्ञान, विज्ञान, कला, संस्कृति, साहित्य, संगीत, सृष्टि, सिर्जनाकी आधारभूत श्रीसरस्वती माताको उत्सव मनाइने पर्व श्रीपञ्चमी, वसन्त पञ्चमीको महोत्सव जीवन र राष्ट्रिय जीवनको समग्र समुत्थानको लागि प्रार्थना गरौं ।

सरस्वती माताले हामी सम्पूर्ण नेपालीहरुमा सत्य र श्रेय मार्गको अवलम्वन गर्दै अगाडि बढ्ने साहसको साथै तन, मन, धन, बल, बुद्धि र विवेकयुक्त नागरिक बन्ने प्रेरणा दिऊन् भन्ने प्रार्थना गरौं !