• जेष्ठ ५ २०८१, शनिबार

संगतको फल

माघ २८ २०८०, आईतवार

एउटा जंगलमा एक ममतामयी चरी बस्थ्यो । उसका बचेरा टाढा टाढा हुँदा पनि उसले भेट्न जाने र उनीहरूलाई दीक्षा दिने गर्दथी । उसका बचेराले कहिल्यै पनि अरूको कुभलो हुने काम गरेनन् । बरू परोपकार नै गरे । यसले गर्दा ऊ निकै सन्तुष्ट र प्रशन्न थिई ।

जीवनको उत्तरार्धमा पनि उसले बचेर जन्माउन छाडेकी थिइन । अग्लो रूखमा बस्ने त्यो चरीले फेर पनि आफ्ना दुईवटा फुलबाट बचेरा निकाल्न ओथारो बसी । तर दुर्भाग्य ! ओथारो बसेका बेलामा चरीमाथि निकै ठूलो बज्रपात आइलाग्यो ।

चरी ओथारो बसेकै बेलामा एक दिन निकै ठूलो हावाहुरी चल्यो । आँधी निकै बेरसम्म आइरह्यो । असिना पर्‍यो । चट्याङ झर्‍यो । रूखहरू ढले । चरी ओथारो बसेको त्यो अग्लो रूख पनि ढल्न पुग्यो । रूखको एउटा हाँगा चरीको गुँडमाथि बज्रिन पुग्यो । चरीको त्यही हाँगाको चोटबाट तत्काल मृत्यु भयो ।

तर त्यो गुँड उछिट्टिन पुग्दा उसका दुई साना बचेरालाई हावाले उडाएर एउटालाई एकातिरको वनमा र अर्कोलाई अर्कोतिरको वनमा पु¥याएर विछोड गराइदियो । मुस्किलले बाँचेका यी दुई बचेरा सानै भएकाले यिनलाई स्याहार सुसारको जरूरी थियो । भाग्यवस्, दुवैले बाँच्ने मौका पाए ।
एउटा बचेरालाई घनघोर जंगलको गुफामा बस्ने लुटेराहरूको समूहले भेटाए ।

अर्को वचेरालाई जङ्गलमा एउटा कुटी बनाएर तपस्या गरी बसेका एक साधुले भेटाए । दुवैको लालनपालन राम्ररी भएकाले दुवै हुर्किए पनि । उड्ने भएपछि ती एकापसमा भेट हुन थाले । तर दोस्ती राम्रो भएन ।

एक दिनको कुरा हो, त्यो जङ्गलमा एक राजा सिकार खेल्न आए । उनले ठूलो मृग लखेट्दै जङ्गलभित्रको भागमा घोडा दौडाइरहे । तर त्यो मृग घनघोर जङ्गलमा कता हरायो थाह भएन । राजाले त्यो मृगलाई भेट्न सकेनन् ।

त्यसपछि थकाइ लागेर चूर परेका राजा जङ्गलको एक छेउँमा पुगेर एउटा ठूलो रूखमुनि बिश्राम गर्न लागे । उनी जसै विश्रामका लागि रूखमुनि बसेका थिए, उनले मान्छेको जस्तो आवाज सुने ।

उनले रूखको टुप्पातिर हेरे । त्यहाँ एउटा चरा कराइरहेको थियो, ‘केटा हो, छिटो आऊ ! एकजना मानिस आएको छ, उसले सुनको गहना लगाएको छ । छिटो आऊ र लुट, उसको घोडा पनि लैजाऊ !’

यो सुनेर राजा हत्त न पत्त घोडामाथि चढे । ठीक त्यसै बेलामा नजिकैको ओढारमा कल्याङकुलुङको आवाज आयो । राजाले यसो ओढारतिर आँखा लगाएको त एकजना लुटेरा हातमा नाङ्गो तरवार लिएर उनीतिर जाइलागिसकेको थियो ।

घोडामाथि चढेका राजा यो सबै दृष्य देखेपछि टाप ठोक्ने सुरमा लागे । तर त्यत्ति नै बेला त्यो लुटेराले हाँक दियो, ‘तँ सक्छस् भने मसँग लडेर देखा !’ राजाले हाँक स्वीका गरे । उनी शुरवीर थिए । साथै, कुशल योद्धा पनि ! उनले घोडा रोके अनि देब्रे हातमा धनुष समाएर दाहिने हातलमा तीर लिएर त्यो लुटेरातिर निशाना साँधे ।

यो देखेर त्यो लुटेरा ओढारतिर अरू धेरै साथी बोलाउन कुद्यो । ओढारबाट अरिङ्गालीका बथान झैं लुटेरा लश्कर लागेर राजाभएतिर आए । यो देखेर राजाले यति ठूलो बथानसँग लड्नु श्रेयष्कर छैन भनी त्यहाँबाट टाप कसे । लुटेराहरूले उनलाई भेट्न सकेनन् । राजा जोगिए ।

पल्लोतिरको ठूलो वन काटिसकेपछि राजा एकजना ऋषिको कुटी नजिक आए । उनले त्यहाँ विश्राम गर्ने विचार लिए । त्यहाँ रहेको ठूलो रूखमुनि आड लागेर घोडा अड्याए । घोडाबाट ओर्लिएर भूइँमा थचक्क बसे । त्यति नै बेला फेरि पनि एउटा चराको आवाज आयो, ‘तपाईलाई स्वागत छ, यहाँ विश्राम गर्नुहोस्, निस्चिन्त हुनुहोस्, तपाईको सुरक्षा तपस्वीले गर्नुहुने छ ।’

राजाले माथितिर हेरे । एउटा चरो रूखको हाँगामा बसेर यस्तो आवाज बोलिरहेको थियो । राजा छक्क परे । उस्तै चरोले अर्को वनमा उनलाई लुट्न लुटेराहरू बोलाएको थियो । तर यो वनमा भने उनको भलो र सुरक्षाको कुरा गरिरहेको छ । उनलाई योगी कुटीमा स्वागत गरिरहेको छ ।

उनले त्यो चरालाई सोधे, ‘तिमी जस्तै चरो अर्को वनमा पनि देखे । तर त्यसले मलाई लुट्नका लागि लुटेरा बोलाउँदै थियो । तिमी रूप, रङ र आकार प्रकारमा उस्तै देखिन्छौ । तर तिमीले मलाई स्वागत गर्‍यौ । तिमी र त्यो चरा एउटै आमाका सन्तान हौ ?’

चराले भन्यो, ‘हो, हामी दुई भाइ हौं ।’ एउटै गुँडका ! उसले त्यसै गर्छ । तर म भने यसै गर्छु । त्यो मसँग बोल्न र कुरा गर्न पनि चाहदैन । तपाई निकै थाक्नु भएको छ । योगी आउने बेला पनि भयो । आराम गर्नुस् ।’

नभन्दै योगी आइपुगे । योगीले पनि राजालाई आराम गर्न र आफूसँग खाना खानका लागि स्वागत गरे । राजा योगी कुटीभित्र पसे । उनले आराम गर्नुको सट्टा योगीलाई प्रश्न गर्न थाले, ‘योगी महाराज ! यी चरा दुई भाइ रहेछन् । तर त्यो पल्लो वनको चरा लुट्नका लागि लुटेराहरूको साथ दिन्छ । यो चरा चाहिँ शान्ति र सुरक्षाका लागि स्वागत गर्छ किन ?’

योगीले भने, यो चरा मसँगको सङ्गतले शान्ति र मानव हितका कुरा गर्छ । त्यो चाहिँ लुटेराहरूसँगको सङ्गतले लुट्ने र खोस्ने खाने कुरा मात्र गर्छ । यो सबै भनेको सङ्गतको फल हो । राजा शान्त भए । योगी तपमा लिन भए ।