• जेष्ठ ६ २०८१, आईतवार

श्वेतभैरवकाे मूर्ति स्थापनाले जुराएकाे चाैताराकाे यात्रा

माघ २६ २०८०, शुक्रबार

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा श्वेतभैरवको मूर्ति स्थापना गरिएको छ । स्थानीय समाजसेवी तथा पत्रकार रवीन्द्र श्रेष्ठको पहल र लगानीमा त्यहाँ रहेका गणेश मन्दिर र भीमसेन मन्दिरसँगै रहेको श्रेष्ठको घरको आडमा स्थापना गरिएको श्वेत भैरवको मूर्तिको माघ २५ गते एक कार्यक्रमकाबीच चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले अनावरण गरिन् ।

सो मूर्ति रवीन्द्र श्रेष्ठ र रीता श्रेष्ठद्धारा दिवंगत पिता चैतन्यप्रसाद श्रेष्ठ र माता भगवतीदेवी श्रेष्ठको समृतिमा स्थापना गरिएको हो । सो अवसरमा मूर्तिको पण्डितद्वारा प्राणप्रतिष्ठा पनि गरिएको छ । यसपाली स्थापना गरिएको श्वेतभैरवको मूर्तिको नजिकै करिव ३ सयवर्ष पुरानो गणेशको मन्दिर र २ सयवर्ष जति पुरानो मानिएको भीमसेनको मन्दिरपनि रहेका छन् । ती मन्दिरमा कुँदिएका बुट्टा, ढुंगाहरु र कलाकृतिको आधारमा अनुमान लगाउने जो कोहीले पनि ती मन्दिरहरु सयौं वर्षअघि नै स्थापना गरिएको मान्न सकिन्छ । श्वेतभैरवको मूर्ति स्थापना गरिएको चौताराको पुरानो बजारमा थप अर्को साँस्कृतिक सम्पदा श्वेतभैरव पनि थपिएको छ ।

संस्कृतिकर्मी कुमार रञ्जितले रवीन्द्र श्रेष्ठको पहलमा चौतारामा अर्को सम्पदा थपिएकोमा आफूलाई खुशी लागेको बताए । हिन्दु संस्कृतिका अर्का खोजकर्ता रत्नप्रसाद अनामणि श्रेष्ठले भैरवका बारेमा जानकारी दिँदै भैरव भनेको महादेवको रौद्ररुप भएको बताए । उनले शिव पुरानमा भैरवको नाम उल्लेख रहेको भन्दै ब्रह्माका ५ मध्ये एउटा टाउको भैरवले काटेको र भैरवका विभिन्न स्वरुपमा पूजा गरिनेक्रममा यहाँ श्वेत भैरवको पूजा गरिँदै आएको पौराणिक इतिहास सुनाए । मानिसका राहु र केतु ग्रह बिग्रँदा भैरवको पूजा गरेमा परिवारमा र समाजमा शान्ति मिल्ने भनाइ रहिआएको छ ।

७२ सालको महामहाभूकम्पमा पनि त्यहाँ रहेका भीमसेन र गणेशका मन्दिरहरु नढलेको स्थानीयको भनाई रहेको छ । ज्योतिष विज्ञानमा वास्तु शास्त्र अनुसार घर बनाएमा भूकम्प जस्ता प्राकृतिक विपत्तिबाट जोगिन सकिने भनाई स्थानीय बुढापाकाहरुको रहेको छ । कार्यक्रमको समापनको अवसरमा भैरवको मूर्ति निर्माण गर्ने कलाकार मन लामालाई सम्मानपत्रसहित सम्मान गरियो ।

एक प्रसंगमा बोल्दै भैरव मूर्ति स्थापना गर्ने समाजशास्त्रका विद्यार्थी समेत रहेका रवीन्द्र श्रेष्ठले नेपालमा धर्मनिरपेक्षता स्थापना भएसँगै धर्म परिवर्तन तिब्र भएको र खासगरी क्रिस्चियानिटी बढेका कारण आफूले नेपालमा चलिआएको सनातन धर्मको जगेर्नाका लागि भैरवको मूर्ति स्थापना गरेको धारणा राखे ।

सो अवसरमा उनले भैरवको मूर्ति बनाउने कार्यमा धेरैको सहयोग पाएकोमा खुशी व्यक्त गर्दै धर्मले मानिसलाई सामाजिक नियम र अनुशासनमा बस्न सिकाउने बताए । संस्कृतिकर्मी रत्नप्रसाद श्रेष्ठले त्यहाँ रहेका भीमसेन, गणेश र भैरवका मूर्तिहरुको संरक्षणका लागि संरक्षण समिति बनाउन आवश्यक रहेको बताए ।

भैरवको मूर्तिको प्राणप्रतिष्ठा कार्यक्रममा स्थानीय नेवार तथा अन्य समुदायका साथै काठमाडौं, भक्तपुर, ललितपुर र हेटौंडाबाट समेत संस्कृतिकर्मी, साहित्यकार र पत्रकारहरु उपस्थित थिए ।

साँस्कृतिक सम्पदाको केन्द्र चौतारा :
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा विविध जातिका संस्कृति र कलाहरुको मिश्रण रहेको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरको वरिपरि रहेका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रामेछाप, दोलखा र सिन्धुली जिल्ला समेटिएको भूमि आदिवासी तामाङ जातिको ऐतिहासिक थलो हो । उनीहरूले पनि उनकाे इतिहास उनकै भाषामा संग्रह र रक्षा गरेका छन् ।

हजाराैं वर्षदेखि काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नेवारी समुदायका मानिसहरुको ठूलो समूहपनि सिन्धुपाल्चोक लगायतका जिल्लाका विभिन्न स्थानहरुमा बस्दै आएकाे छ । त्यसैले त्यो भूमि विभिन्न जातिको मिश्रित बसोबास भएको भूमि हो ।

तामसालिङका तामाङ नेवा प्रदेशमा, नेवा प्रदेशका नेवारहरु तामसालिङमा गइ बसोबास गर्दै आएको एक ऐतिहासिक परम्परा पनि यहाँ रहेको छ । त्यसैले चौतारामा हिन्दूहरुका मन्दिर मात्रै छैनन् । त्यहाँ बौद्धमार्गीहरुका गुम्बाहरु पनि छन् । चौतारा बजारबाट झण्डै ७ किलोमिटर उत्तरमा स्थापना गरिएको ६७ फिट अग्लो र भव्यतम बुद्धको मूर्तिले पनि पहिला बोन र पछि बुद्ध धर्मावलम्बी बनेका तामाङ समुदायको परम्पराकाे अस्तित्वलाई जोगाइरहेको छ ।

केही पर गौंग्राती भीमसेनको मन्दिरपनि रहेको छ, जसको ०५३ साल माघमा तत्कालिन राजा वीरेन्द्र शाहले अनावरण गरेको त्यहाँ स्थापना गरिएको शिलालेखमा उल्लेख गरिएको छ । चौतारादेखि उत्तरतिर फर्केर हेर्दा पूर्वदेखि पश्चिमसम्मै मनोरम हिमश्रृंखलाहरु देख्न सकिन्छ । तर संसारकै मानवजातिको दुर्भाग्य नै हो, पहिले पहिले दाँतका लहरजस्तै सेतै देखिने गौरीशंकर, जुगल र लामटाङ हिमालमा अहिले धेरै हिउँ छैन ।

प्रत्येक वर्षका मंसीर, पुष र माघ महिनामा थपिने हिउँले काला पहाडहरु पनि सेतै सेतै देखिन्थे । तर केही वर्षदेखि सेता देखिने हिमालहरु कालाकाला देखिन थालेका छन् । जान्नेहरु यसलाई जलवायु परिवर्तन भएको भन्छन् । फलस्वरुप हिमनदीहरु घट्न थालेका छन् । यसकाे असर राेक्न संसारमा सेमिनार बाहेक अरू केही गरेकाे  देखिन्न ।

हिमाल पग्लेर किक्रिक्क्क परेका काला पहाडहरु देख्दा पहिले रमाउने मनहरु अब भने चिन्तित बन्दै गएका छन् । किनकि प्रकृतिमा प्राकृतिक तत्व नासिँदै जानु मानिस र सारा प्राणीजगतका लागि नराम्रो भविष्यको संकेत हो । त्यसैले अबको संसारमा प्राकृतिक सम्पतिको लुछाचुँडीका लागि ठूला ठूला युद्धहरु हुनेतिरका संकेतहरु देखिन थालिसकेका छन् ।

भारतले हाम्रा नदीनालाहरु हडप्नु, एमसीसीका नाममा अमेरिकाले नेपालका प्राकृतिक स्रोतहरु कब्जा गर्नु र रुस-युक्रेन तथा इजरायल-मुस्लिम युद्धहरु यसकै तत्कालिन र जटिल परिस्थितिका उदाहरणहरु हुन् । हामी चौतारा पुग्नुअघि नै इर्खुडाँडामा तामाङ समुदायका धामीको मूर्ति बाटोको छेउमै स्थापना गरिएको देखियो । हो, नेपालका अरु समुदायजस्तै तामाङ पनि लामो इतिहास बोकेको जाति हो ।

त्यसैले तामाङ जातिको इतिहास जत्तिकै उनका पूर्खाले जोगाएर ल्याएको ढ्याङ्ग्रोको पनि लामो इतिहास रहेको छ । तामाङ समाजमा कोही बिरामी पर्दा झारफुक गर्ने, जडिबुटी औषधी खुवाएर बिरामीलाई निको पार्ने परम्परासँगै बिरामीलाई मनोवैज्ञानिकरुपमा पनि दुरुस्त राख्न र रोगविरुद्ध मनोबल उठाउन ढ्याङ्ग्रो बजाउने चलन अहिले पनि छ ।

डाँडामा स्थापना गरिएको धामीको सो मूर्तिले पनि तामाङ जातिको इतिहासको झल्को दिइरहेको छ । हो, परम्पराहरुमा केही रुढिगत मान्यताहरु पनि हुन्छन् । ती सबैका हुन्छन् । बरु तिनलाई शुद्धिकरण गर्दै विज्ञानसम्मत कुराहरुलाई अंगाल्ने र अवैज्ञानिक कुराहरुलाई छोड्दै जानुपर्छ । यी त हामीले बाटोमा यात्रा गर्दैगर्दा देखेका मानव निर्मित संस्कृतिहरु हुन् । तर यहाँको समाजको भित्र पस्ने हो भने यस्ता अनैकौं चलन र मान्यताहरु पहिल्याउन सकिन्छ ।

रोमाञ्चक दृश्य भोग्न लालायित मनहरु :
चौतारा पुग्न माघ २५ गतेको विहान एक दर्जनजति साहित्यकारहरु रिजर्भ गरिएको माइक्रोबसमा हुँइकिए । गोंगबुबाट थालिएको चौतारा पुग्ने यात्रा दोलालघाट पुगेर खाजापानीको लागि रोकियो । हामीध्ये केहीका लागि चौतारसम्मको यात्रा नयाँ थिएन तर केहीका लागि भने दोलालघाटदेखिको पाइला नयाँ नै थियो ।

मेरो लागि पनि दोलालघाटदेखि चौतारसम्मको यात्रा नयाँ थियो । यात्रामा रमाउने तर यात्रा तय गर्न निकै कठिन मान्ने  यात्री हुँ म । यसभन्दा अघि सोहीबाटो दोलखाको चरिकोटहुँदै मन्थलीसम्म पुगेको छु । अर्कोचोटी दोलखाको मुढेबजारहुँदै शैलुङतिर पनि हान्निएको भने छु । मलाई यात्रा धेरै रमाइलो लाग्छ । बस विस्तारै वनदेवीदेखि चौतारातिरको बाटोमा सोझियो ।

बान्ता आउन थालेका कारण म चालकको देब्रेतिर बसेर अगाडीका सारा दृश्य नियाल्ने मौका पाएँ । रत्न सर यसका लागि धन्यवादका पात्र हुनुहुन्छ । मलाइ सालघारी देख्दा दाङको याद आउँछ भने सल्लाघारी देख्दा सल्यानको याद, उत्तिस र बाँझका बोटहरु देख्दा म्याग्दीको याद आउँछ । किन कि मेरो घर दाङ हो, सल्यान मामा घर हो भने म्याग्दी ससुराली हो । सायद आफन्तहरुको माया र अपनत्वले त्यहाँको प्रकृति पनि मन परेको हो कि ! तर नेपालका १२३ जातिका मानिसहरु नै मेरा लागि आफ्नै हुन् ।

आजको यो बाटोमा सबै जातका रुखहरुका मिश्रित जंगल देख्न पाइयो । बस्तीरूमा देखिने बारीमा बालीनाली एकदम कम थिए । उत्पादनमा नलाग्नु बरू कालापहाड र खाडीतिर भाैंतारिनु नेपालीकाे नकारात्मक विशेषता हाे । राज्यले बजारीकरणकाे जिम्मा लिने भए ती लाखापाखामा पनि अन्न फल्थे हाेला तर नेपालकाे राज्य यस्ताे गर्दैन । नेपाल सरकार त बरू विदेशीलाई नेपालमा मालसामान बेच्न दिएर कमिसन खान्छ र निदाएर बस्छ ।

जंगलमा नागबेली परेको बाटोबाट पारीपारी देखिने हिमश्रृंखलाहरु, भित्तामा आढेस लागेर बनेका घरहरु देख्दा आफ्नै देश जस्तो लाग्थ्यो । किन कि भारतका हिमाचल र गढवालका अनकन्टार बस्तीहरुमा रोजगारीको लागि पुग्दा ती बस्तीहरु मलाई बिराना लाग्थे । किन कि स्वदेशी अपनत्व र भाषाका कारणले मात्र मानिसलाई समाजप्रति माया हुन्छ ।

चौतारासम्मको यात्रामा आउँदा र जाँदा तारा दिदी, रेणु दिदी, रत्न सर, टंक काका, कुमार रञ्जित, उमेश पाण्डेहरु आफ्नै परिवारमा सदस्य झैं मायालु लाग्थे । एक दुईजना अरु साथीको नाम थाहा नभएपनि उनीहरु पनि मित्रताको मालामै उनिएका थिए । साँझपख रवीन्द्र जी र उहाँका परिवारका सदस्यहरुले मायाको चिनोसहित गर्नुभएको विदाईले छुट्ने बेलाका मनहरू अमिला भए ।

अर्को सन्दर्भमा फेरि भेटौंला भन्दै भारी मन र मायालु नजरले एकले अर्कालाई नियाल्दै विदाई हात हल्लाउँदै टाढा भयौं । बाटोमा तारा दिदी र रेणु दिदीको लालिगुराँसप्रतिको मोहले मानिसको प्रकृतिप्रतिको आकर्षण धेरै छ भन्ने भावना जगायो । यति कुरा गर्दा हामीलाई चौतारा पुर्याएर गोंगबु नै सकुशल ल्याइपुर्याउने माइक्रोचालक भाईलाई पनि सम्झेको छु । फेरि कहीँ कतै देखाभेट हुँदा नदेखे झैं गर्ने छैन है भाई ! धन्यवाद । जय प्रकृति !