• जेष्ठ ६ २०८१, आईतवार

रिडी ग्रुपको छैठौं साधारणसभा सम्पन्न, समुदायलाई नै आत्मनिर्भर बनाउने उद्धेश्य रहेको अध्यक्ष बुढाको भनाई

पुष २३ २०८०, सोमबार

काठमाडौं । लगानी र व्यवसायको क्षेत्रमा नाम कमाएको रिडी ग्रुपको छैठौं साधारणसभा ललितपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मानबहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा प्रमुख अतिथि संघीय संसदका उपसभामुख इन्दिरा रानामगर, अतिथिहरुमा मगर संस्कृतिविद बमकुमारी बुढामगर, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर र नेपाल अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकामगर लगायतको उपस्थिति थियो । साधारणसभाले ०७९–०८० को लेखापरिक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।

सभाले मानबहादुर बुढाको नेतत्वमा रहेको यसअघिकै संचालक समितिलाई आगामी ४ वर्षका लागि पुनः जिम्मेवारी सुम्पेको छ । पुनः निर्वाचित भएपछि आफ्नो धारणा राख्दै अध्यक्ष बुढामगरले मगर लगायत सबै समुदायका सदस्यहरुको उर्जा र क्षमतालाई जोडेर उद्यम गरी आत्मनिर्भर बन्ने अभियानमा लाग्ने बताए ।

रिडी ग्रुपले के–के गरिरहेको छ ?
रिडी ग्रुपले समृद्धिको लागि सामूहिक रुपमा लगानी गरी समृद्ध समाज निर्माण गर्नुलाई आफ्नो उद्धेश्य ठानेको छ । यो ग्रुपले समाजमा मानिसहरु एक्लै धनी हुने होइन, बरु सामुदायिक तथा सामूहिकरुपमा सबै समृद्ध हुने अभियान चलाएको छ । समावेशी समाज, खुल्ला अर्थतन्त्र र सशक्त जनता यसले आफ्नो क्षेत्राधिकार बनाएको छ । रिडी ग्रुपले होटेल, उर्जा, कृषि, हाउजिङ, शिक्षा-स्वास्थ्य र सञ्चार उद्योगहरुलाई सामूहिक उद्यमशीलताका क्षेत्र मानेर लगानी गर्दै आएको छ । विगत ५ वर्षदेखि सञ्चालनमा रहेको यो ग्रुप अनुभवी व्यावसायीहरुद्धारा सञ्चालित नाफासहितको सामूहिक संस्था हो । यो ग्रुपले उत्पादनका विभिन्न क्षेत्रहरुमा लगानी गरेर उत्पादन र बजारीकरण सुरु गरिसकेको छ ।

उत्पादन र बजारीकरणको माध्यमबाट बेरोजगार शिक्षितहरुलाई रोजगार दिने पनि यसको उद्धेश्य रहेको छ । हाल रिडी ग्रुपले बहुउद्धेश्यीय लगानीको क्षेत्र अन्तरगत होटेल रिसोर्ट, साबुन उद्योग, कृषि तथा पर्यटन, रेष्टुराँ लगायतमा लगानी गरिरहेको छ । यो कम्पनीमा ३६१ जना संस्थापक शेययरधनी र ११७ जना शेयर इन एड्भान्स गरी जम्मा ४७८ जना शेयरधनी आवद्ध रहेका छन् ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब रहेको छ भने कम्पनीले तत्काल जारी गरेको शेयर पुँजी ३१ करोड ३० लाख रहेको बताइएको छ । यो कम्पनीले धनकुटाको थुम्की नाम्जेमा रिडी नाम्जे रिसोर्ट खोलेको छ । यसमा रिडी ग्रुपको ७० प्रतिशत र स्थानीय जनताको २५ प्रतिशत लगानी रहेको छ ।

यो रिसोर्ट छिट्टै सञ्चालनमा आउने यो कम्पनीले बताएको छ । त्यस्तै रिडी ग्रुपले ललितपुरको जावलाखेलमा रिडी लाउञ्ज पनि स्थापना गरेको छ । यहाँ विभिन्न अर्गानिक खानाका परिकारहरु पाइन्छ । साथै यो कम्पनीले साबुन उद्योग पनि खोलेको छ ।

चितवनमा स्थापना भएको साबुन उद्योगबाट उत्पादित साबुनको उत्पादन तथा बजारीकरण नेपालभरी भइरहेको छ । यो ग्रुपले उता दाङमा एग्रो रिसोर्ट पनि सञ्चालनमा ल्याएको छ । देउखरीको देविकोटबाट मौरीघाटसम्म साहसिक खेल प्याराग्लाइपिडङ पनि सुरु भइसकेको छ । त्यस्तै गार्मेन्ट उद्योग पनि सञ्चालनमा रहेको छ । यो ग्रुपले यसैगरी आफ्नो लगानीको क्षेत्रलाई बढाउँदै लैजाने बताएको छ ।

तस्वीरहरू : राज मगर