• जेष्ठ ८ २०८३, शुक्रबार

श्रम शोषण गरेको उजुरीपछि क्रान्तिकारीद्वारा ठेकेदारलाई कालोमोसो

आश्विन १० २०८०, बुधबार

धनकुटा । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले श्रमिकको श्रम शोषण गरेको भन्दै धनकुटामा एक ठेकेदारलाई जनकारवाही गरेको छ ।

धनकुटा नगरपालिकाको वडा नम्बर १ हिलेस्थित कबर्ड हल निर्माण कार्यमा मजदुरहरुलाई ज्याला नदिएको भन्दै ठेकेदार माथि कारवाही गरिएको सो पार्टीले जनाएको छ ।

महिनौदेखि श्रमिकलाई ज्याला नदिएको भन्दै सुपेरियर मालिका जे.भी. कम्पनीका ठेकेदार प्रदिप कार्की उर्फ चुलबहादुर कार्कीलाई जनकारबाही स्वरुप कालोमोसो दलेर उक्त पार्टीले जनकारवाही गरेको जिल्ला संयोजक मोहन घलेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त हिलेमा सुपेरियर मालिका जे.भी. कम्पनीले तीन करोड पचास लाख सरकारी बजेटको योजनामा कबर्ड हल निर्माण गरी रहेको छ ।

कार्कीले ५० जना मजदुरलाई ९ महिनासम्म आफ्नो साइडमा काम लगाई ज्याला नदिएको भन्दै पीडितहरुले सो पार्टीको न्यायिक समितिमा निज विरुद्ध उजुरी दिएका थिए ।

न्यायिक समितिले श्रमिकलाई ज्याला भुक्तानी गरेर न्याय प्रदान गर्न ताकेता गर्दा समेत अटेरी गरेकोले चेतावनी सहित सांकेतिक कारबाही गरेको सो पार्टीले जनाएको छ । मजदुरहरु एकल वा सामुहिक रुपमा ज्याला माग्न जाँदा गालीगलौज र दुर्व्यवहार गर्नुकासाथै डर, त्रास, धाकधम्की दिने गरेको भनी पीडितहरुले गुनासो गर्दै आएका थिए ।

सो पार्टीले शोषण, उत्पीडन, भ्रष्टाचार, घुस जस्ता अन्य गतिविधि भएमा जिल्ला संगठन समिति अन्तर्गत न्यायिक समिति समक्ष गुनासो तथा उजुरी गर्न आम जनसमुदायमा अपिल गरेको छ ।