• जेष्ठ ७ २०८३, बिहीबार

बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट

पुष १८ २०७९, सोमबार

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा बोक्सीको आरोपमा एक दलित महिलालाई निर्घात कुटपिट गरिएको छ । जगरनाथपुर गाउँपालिका-३ खलुचडी बस्ने ६० वर्षीय दलित महिला सुदामा देवी चमईनलाई कुटपिट गरिएको हो ।

उनको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । महिलोको टाउको, गर्दन र शरीरको विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ । आईतबार साँझ घरमै घुर तापेर बसिरहेका बेला सुदामा देवीलाई छिमेकीहरुले नै कथित बोक्सीको आरोपमा कुटपिट गरेको दावी गरिएको छ ।

स्थानीय नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महराचमार र सुरेश महराचमारले मिलेर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको छोरा प्रभु महराले बताए ।

‘म नयाँ वर्षको पिकनिक खान गएको थिएँ, आमा घर अगाडि घुर तापिरहनुभएको थियो । छिमेकका चारजना मिलेर बोक्सीको आरोपमा कपाल समातेर बाँसको भाटाले हानेर कुटपिट गरेछन् । दाँत लागेपछि छोडेर भागेछन् ।’ उनले भने ‘घटनाबारे सुनेपछि म आउँदा उनीहरु भागिसकेका थिए । प्रहरीको सहयोगमा आमालाई एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर उपचार गरिरहेको छु ।’

आमालाई मल मूत्र खुवाउने प्रयास गरिएकोमा गाउँका अन्य मानिसहरुले गएर रोकेको उनको भनाइ छ । सोही अनुसार स्थानीय प्रहरी कार्यालयमा उजुरी समेत दर्ता गराएको दावी उनको छ । यसअघि पनि छिमेकीको घर परिवारमा कोहि विरामी पर्दा आमाले गर्दा विरामी परेको भनेर आरोप लगाउने गरेको उनको भनाई छ । ‘एक दुईपटक सहेको पनि हो, कतिपटक सहने ?’ उनले भने ‘अब हामीलाई न्याय चाहिन्छ ।’

दलित विपन्न परिवार भएकै कारण सुदामा देवीको परिवारलाई छिमेकीले हेप्ने गरेको स्थानीय बताउँछन् । यता, प्रहरीले भने सुदामाको छिमेककै ४० वर्षीया विन्दा देवीसँग भाँडा वर्तनको विषयलाई लिएर झगडा भएको जनाएको छ । उनीहरु दुवै जना सामान्य घाइते भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले भने बोक्सी आरोप लगाएको भन्ने विषयमा आफूलाई जानकारी नरहेको बताए ।

‘मातहतको कार्यालयले भाँडा वर्तनको विषयलाई लिएर दुईजना महिलाबीच झगडा भएको भनेर सूचना दिएको थियो ।’ उनले भने ‘बोक्सीको आरोप लगाएको विषयमा कुनै उजुरी वा आधिकारिक जानकारी आएको छैन ।’