• बैशाख २८ २०८३, सोमबार

मधेसीलाई मतदाता र करदाताको रुपमा मात्र प्रयोग गरियो : अध्यक्ष दत्त

पुष १६ २०७९, शनिबार

काठमाडौं । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेसी समुदायलाई मतदाता र करदाताको रूपमा मात्र प्रयोग गरिनु गलत कदम भएको बताएका छन् ।

उदयपुरको गाईघाटमा मधेसी समाजको प्रथम अधिवेशनको प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष डा.दत्तले राजनीतिक तथा प्रशासनिक तहमा मधेसी समुदायको पहुँच अझै पनि न्यून रहेकोले विभिन्न समयमा मधेसी समुदाय भेदभाव तथा अत्याचारको शिकार हुनुपरेको बताए । डा.दत्तले विभिन्न सरकारहरू आए पनि मधेसीको समस्या जस्ताको त्यस्तै रहेको बताउँदै यी समस्याहरू प्रति सरकार उदासीन रहेको बताए ।

अध्यक्ष डा.दत्तले मधेसीहरूको हकहितको लागि विभिन्न सङ्गठनहरू दर्ता भए पनि मधेसीहरू आफैमा सङ्गठित नहुनु प्रति चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष डा.दत्तले मधेसीहरुलाई एक हुन र गर्वका साथ आफू मधेसी हुँ भनेर पहिचान दिनसमेत अनुरोध गरेका छन् ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, त्रियुगा न.पाका उपप्रमुख, सुरक्षा निकायका प्रमुख लगायतका मधेसी अगुवाहरूको उपस्थिति रहेको थियो ।