• जेष्ठ ७ २०८३, बिहीबार

नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन विज्ञ टोली खटाइयो

पुष १६ २०७९, शनिबार

काठमाडौं । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन विज्ञको टोली खटाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाएको हो ।

चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम गरिरहेको छ ।

राहदानी वितरणमा सबैभन्दा बढी भीड हुने देखिएको हुँदा सुरूमा त्यहीँ केन्द्रीत भएर काम अघि बढेको पनि प्रवक्ता पोखरेलले बताए । ‘तीन दिन भयो विज्ञको टोली खटिएको, समस्या के हो पहिचान गरी आफैले सक्ने भए समाधान पनि गर्ने र नभए सहयोग माग्ने गरी खटाइएको छ,’ उनले भने ।

गत सोमबार पुस ११ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले लामो लाइन बस्नुपर्ने बाध्यतालाई हटाउने निर्णय गरेको थियो ।
उक्त निर्णय गरेपछि गृह मन्त्री रवि लामिछाने राहदानी विभागमा पुगेर समस्याबारे बुझेका थिए ।