• जेष्ठ ७ २०८३, बिहीबार

गृहमन्त्रीद्वारा प्रहरीमा युवाको आकर्षण र विकर्षण विषयक अध्ययन प्रतिवेदन सार्वजनिक (तस्बिरसहित)

पुष १५ २०७९, शुक्रबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षण विषयक दुई वटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । आज (शुक्रबार) लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणको क्रममा उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

निरीक्षण पश्चात् आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयले अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था’ विषयक २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् ।

नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने उद्देश्यले गरिएको यो अध्ययनले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनलाई एक अर्काको परिपूरकको रूपमा अन्तर सम्बन्धित रहेको छ ।

उक्त प्रतिवेदनमा देशका विभिन्न जिल्लामा कार्यरत १ हजार ३ सय ८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूमा सर्वेक्षण, गहन अन्तरवार्ता तथा सुपरिवेक्षक तहका प्रहरी कर्मचारीहरूसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्याङक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ ।

यसैगरी नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदनमा देशभरबाट कक्षा १० देखि स्नातक तहसम्म अध्ययनरत १ हजार ३ सय ६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाहरूको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको थियो ।

गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।

कार्यक्रममा गृहमन्त्री लामिछानेको उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवं भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गरेका थिए ।

सम्बोधनको क्रममा जस्तो सुकै विषम परिस्थितिमा पनि किन्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपरोधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहेको चर्चा गरे ।

संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्वप्रहरी अधिकृतहरु र बहालवाला प्रहरी अधिकृत तथा जवानहरुप्रति उनले सम्मान प्रकट गरे । संगठनको बिकास र बिस्तार तथा प्रहरी कर्मचारीहरुको बृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिईने बताउँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले भने, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरुको भौतिक संरचनाहरु छैनन्, तल्लो तहका प्रहरी कर्मचारीहरु ब्यारेकमा कष्ट पूर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि आवास गृह छैन, स्केलमा पाउनुपर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनुपर्छ ।’

प्रविधिको विकाससँगै त्यसको दुरुपयोगबाट श्रृजित अपराधको अनुसन्धानको चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकता रहेको उनले बताउँदै प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको श्रृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताए ।

नागरिकको अपेक्षा अनुरुपको चुस्त दुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिए ।

विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दीविरुद्ध निर्मम भएर प्रहरी कारबाही गर्न विशेष निर्देशन दिँदै उनले सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पुर्णत निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिए । महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सन्दर्भमा अझ बढी संबेदनशिल भएर सोहीअनुसार सेवा प्रवाह गर्न समेत उनले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको शिलसिलामा कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई काुूनले दिएको अधिकार निश्चिन्त भइ प्रयोग गर्न सवै प्रहरी कर्मचारीहरू दत्त चित्त भई आआफ्नो ठाउँबाट इमान्दार भई कार्यसम्पदान गर्नुपर्ने बताए ।

सरुवा, बढुवा र बृत्ति विकासको लागि मापदण्ड तयार गरी लागू गरिने र मापदण्ड र कार्य सम्पादनको मुल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने समेत उनले उल्लेख गरे ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । संगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्दै संगठनको नीति अनुरूप कार्य सम्पादनको मूल्याङकनको आधारमा सरूवा, बढुवा पारदर्शी रूपमा हुने एवम् प्रहरी अधिकृतहरूको सरूवा उनीहरूको व्यावसायिकता तथा दक्षताको आधारमा गरिएको बताए ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेसमक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सोही अवसरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा सम्बन्धी अनुसन्धानको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवं ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवं सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।