• बैशाख २८ २०८३, सोमबार

बेली बाराबार भएका ओली र माधवबीच भेट हुने

पुष १४ २०७९, बिहीबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ । ओली र नेपालबीच शुक्रबार भेट हुने तयारी रहेको स्रोतले बतायो ।

‘समय र स्थान तय भएको छैन तर दुई नेताको शुक्रबार भेट हुँदैछ,’ उच्च स्रोतले भन्यो, ‘दुवै पार्टीका नेताहरूको औपचारिक र अनौपचारिक छलफलपछि भेटको तय भएको हो ।’

ओली र नेपालबीच सत्ता गठबन्धन र पार्टी एकताबारे छलफल हुने बताइएको छ । दुई नेताबीच २०७८ वैशाख यता भेट भएको छैन । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ ग्रहण कार्यक्रममा ओली र नेपालबीच समान्य कुराकानी भएको थियो ।

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले ओली र नेपालको बीचमा भेट गराउने प्रयास भइरहेकाले जुनसुकै बेलापनि भेट हुनसक्ने बताए ।

‘हामीले पार्टी एकता नगरी उपाय छैन तर हामी सम्मानजनक एकता चाहान्छौं । दुवै पार्टीका तर्फबाट विभिन्न तहका नेताहरू सक्रिय छन्,’ उनले भने, ‘ओली र नेपाल दुवैले एकले अर्कालाई कति गलाउने भन्ने सोचेका हुनसक्छन् तर आजको आवश्यकता पार्टी एकता नै हो ।’

‘दुवै पार्टीका नेताहरूको छलफल चलिहरेको छ । हाम्रो प्रयास नेकपा एकीकृत समाजवादीलाई एमालेमा ल्याउने हो,’ उनले भने, ‘त्यसका लागि हामीले विभिन्न तहबाट छलफल गरेका छौं । मैले पनि माधव कमरेडलाई पटक-पटक भेटेको छु । उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्छ ।’ नेता महेश बस्नेतले भने ।

नेकपा एमालेले नेकपा एससँग एकता गरेर संसदको ठूलो दल बन्ने प्रयास समेत गरेको छ । त्यसका लागि उसले नेकपा एसका १० र आफ्नो पार्टीबाट विद्रोह गरेर मोरङ क्षेत्र नं ५ बाट निर्वाचन जितेका स्वतन्त्र सांसद योगेन्द्र मण्डललाई समेत ल्याउने प्रयास गरेको छ । त्यस्तो भएमा एमालेका ८९ जना सांसद हुन्छन् । नेपाली कांग्रेसका पनि ८९ जना सांसद छन् ।