काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठन भएको सरकारमा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने विषयलाई उत्कसुकताका साथ हेरिएको छ ।
तथापि सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीसँग छलफल अगाडि बढाइसकेका छन् । हिजो (बुधबार) प्रचण्डले अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै सरकारमा सहभागी हुन आग्रह गरेका थिए । ललितपुरस्थित आफ्ना आफन्तको घरमा प्रचण्डले नेपाललाई बोलाएर छलफल गरेका थिए । छलफलमा अध्यक्ष नेपाल सरकारमा जान सकारात्मक देखिए पनि पार्टीभित्र यस विषयमा छलफल गरेर मात्रै निष्कर्षमा पुग्ने बताए ।
हिजोदेखि एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रयासस्वरूप नेकपा (एमाले) र माओवादी केन्द्रका नेताहरूले पहल गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्ने क्रममा आफूसँग छलफल नगरेको भन्दै नेपालले गुनासो गरेका थिए ।
गुनासोलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनेकाले सहयोग गर्न अनुरोध गरेका थिए । विगतमा सहकार्य गरेर अघि बढेको र अहिले पनि सँगै मिलेर जानका लागि कुनै सैद्धान्तिक विमति नभएकाले सहयोग गर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका हुन् । उनको आग्रहमा नेपालले तत्काल मिलेर जान तयार भए पनि मन्त्रिपरिषद् विस्तारकै क्रममा सबै विषयहरू मिलाउन सकिने प्रस्ताव प्रचण्डले राखेको स्रोत बताउँछ ।
‘हामीले सरकारमा सहभागी हुने वा नहुने विषयलाई लिएर अहिले नै हतारो गरिहाल्नु पर्ने स्थिति छैन । यस विषयमा पार्टीभित्र छलफल हुन्छ । अहिलेसम्म कुनै आधिकारिक निर्णय नै भएको छैन । यसर्थ हामी सरकारमा जाने या नजाने भन्ने प्रष्ट भएको छैन । यदि भोलिका दिनमा पार्टीले सरकारमा सहभागी हुने विषयलाई टुंग्याएमा हामी सरकारमा जान्छौँ । अन्यथा हामीले सरकारलाई समर्थन गर्नुपर्छ भन्ने छैन,’ भन्छिन्– नेत्री रामकुमारी झाँक्री ।
त्यस्तै एकीकृत समाजवादीका अर्का नेता मेटमणि चौधरी भन्छन्, ‘सरकारलाई समर्थन गर्ने विषयमा हामी पार्टीभित्र घनिभूत छलफल गर्छौँ । यस विषयमा हाम्रा शीर्षस्थ नेताहरूले प्रधानमन्त्रीसँग छलफल गरिरहनु भएकै छ । हामी निरन्तर छलफलमै छौँ । यसर्थ हामीले भन्दा पनि पार्टीभित्र जुन कुराको निर्णय हुन्छ । त्यही अनुसार हामी अगाडि बढ्ने हो । अहिले नै पार्टी सरकारमा सहभागी हुन्छ भन्न सकिँदैन ।’
के भन्छन् ? लोसपाका नेताहरू :
प्रचण्ड नेतृत्वको नवगठित सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गर्ने विषयमा अहिलेसम्म छलफल भएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि लोसपाका नेताहरूसँग छलफल अगाडि बढाएका छैनन् ।
हिजो (बुधबार) ललितपुरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका अन्य दलका शीर्ष नेतासँग छलफल गरे पनि लोसपासँग गरेनन् । तथापि लोसपा सरकारमा सहभागी हुने सम्भावना देखिएको स्रोत बताउँछ ।
केही दिनअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएर छलफल गरेका थिए । तर, लोसपाका कुनै पनि नेतासँग ओलीले संवाद गरेनन् ।
‘लोसपा सरकारमा सहभागी हुने सम्भावना भए पनि प्रधानमन्त्री र ओलीज्यूले हामीसँग आजसम्म कुनै संवाद गर्नु भएको छैन । हामी तपाईंहरूसँग संवाद वा छलफल गर्छौँ भन्दै जाने कुरा पनि भएन । उहाँहरूले हामीलाई छलफलमा बोलाएपछि छलफल पनि गर्छौँ र सरकारलाई पनि समर्थन गर्न सकिन्छ,’ भन्छन्– लोसपाका एक नेता ।’
हिजो बसेको लोसपा पदाधिकारी बैठकमा सरकारमा जाने विषयमा कुरा उठेको सर्वेन्द्रनाथ शुक्लाले बताए । शुक्लाले सरकारको समर्थन आफ्नो पार्टीले गर्न तयार भए पनि एमाले र माओवादी केन्द्रका कुनै पनि नेताले छलफलका लागि प्रस्ताव नगरेको गुनासो गरे ।
प्रचण्ड प्रधानमन्त्री बनेकै दिन हामीले सरकारलाई समर्थन गर्ने सोचमा थियौँ । तर, छलफलका लागि कतैबाट प्रस्ताव नआएपछि लोसपाले आधिकारिक निर्णय गर्न सकेको छैन । यदि हामीलाई पनि सरकारमा सहभागी गराएको भए प्रदेश सरकार गठनमा सहज हुने शुक्लाको भनाइ थियो ।
बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनसम्म लोसपासँग एमालेको राम्रो सम्बन्ध थियो । राष्ट्रियसभाको निर्वाचनमा पनि दुई दलबीचको सहकार्य राम्रै थियो । त्यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि एमालेले लोसपासँग तालमेल गरेर जाने सोचमा थियो ।
यी दुवै दलको कार्यदल पनि गठन भयो । तर, तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा तत्कालै एमालेको साथ छाडेर कांग्रेससँग वार्ता गरी गठबन्धन गर्यो । त्यसपछि एमाले रुष्ट देखिएको छ । यसर्थ लोसपासँग उसले छलफल नै नगरेको बताइएको छ भने प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन पनि मुस्किल देखिएको स्रोत बताउँछ ।