काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टरमा एक्स–रे डिआर उपकरणको उद्घाटन गररेका छन् ।
उनले उपकरणको पूर्ण उपयोग गर्नसके ट्रमाका बिरामीलाई राहत हुने बताएका हुन्। उनले ट्रमा सेन्टरलाई एमआरआई उपकरण उपलब्ध गराउन पहल गर्ने बताए।
राज्यमन्त्री केसीले ट्रमामा २५ शय्या सघन उपचार कक्ष (आइसियु) र १०० शय्या थप गर्ने योजना रहेको बताए। सेन्टरका निर्देशक डा प्रमोदकुमार यादवले ट्रमाका उपकरणले बिरामीको हरेक कोषबाट रेडियोग्राफी तस्बिर खिच्न सकिने बताए।
ट्रमाका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले उपकरण स्वचालित र पूर्ण प्रविधिमैत्री रेडियोग्राफी उपकरण रहेकाले धेरै बिरामीको प्रभावकारी ढङ्गले तस्बिर खिच्नसक्ने बताए । उपकरण रु एक करोड ५० लाखमा खरिद गरिएको हो ।